६ महिनाअघि सजिएकी बेहुली, ६ महिनापछि सडकमा अस्ताइन्
दाङ । ६ महिनाअघि ठ्याक्कै आजकै दिन तुलसीपुर–११ कटाँहाको एउटा घरमा खुसीको रङ्ग छाएको थियो । २१ वर्षीया कल्पना केसीलाई बेहुली बनाएर भित्र्याउँदा परिवार र आफन्तमा उत्सवको माहोल थियो । गत माघ २१ गते उनी घर भित्रिएकी थिइन् र २२ गते विधिवत् रूपमा विवाह सम्पन्न भएको थियो । तर, त्यसको ६ महिना आजकै दिन विहीबार दिउँसो साढे १२ बजेतिर उनको दुर्घटनामा परि निधन भयो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार कल्पना रा ४ प ७९४५ नम्बरको स्कुटीमा सवार रही तुलसीपुर बजारबाट दक्षिणतर्फ जाँदै थिइन् । उनको अगाडि तुलसीपुर उपमहानगरपालिकाको फोहर बोक्ने रा १ ग २२ नम्बरको टिप्पर गुडिरहेको थियो । सोही दिशामा गइरहेकी उनलाई विपरीत दिशाबाट आइरहेको कप्र ०२–००३ प २४४९ नम्बरको मोटरसाइकलले ठक्कर दियो । त्यो एउटा ठक्करले कल्पनाको स्कुटरको सन्तुलन बिग्रियो र उनी टिप्पर मुनी परिन ।
टिप्पर मुनी परेर गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । उनका श्रीमान लामो समयदेखि रोजगारको सिलसिलामा विदेश छन् । उनी माघमा घर आएको बेला विवाह भएको थियो । उनको विवाह पछि पुनः फागुनमा रोजगारको सिलसिलामा कतार गए । कल्पना भने बबई क्याम्पसमा स्नातक दोस्रो बर्षमा अध्ययनरत रहेको पारिवारिक स्रोतले बताएको छ । हाल पीडितले शव बुझेका छैनन् । शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

