बबईमा स्वास्थ्य शिविर सम्पन्न
दाङ । बबई गाउँपालिका–दाङको हंसपुरस्थित बबई आधारभूत अस्पतालमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। तीन सय शैयाको संजीवनी टिचिङ हस्पिटल, घोराहीको प्राविधिक सहयोग तथा बबई गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरबाट पाँच सयभन्दा बढी सेवाग्राहीले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसूति, जनरल सर्जरी, शिशु तथा बालरोग, नाक–कान–घाँटी लगायत विभिन्न विधाका विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए।
सेवाग्राहीलाई स्वास्थ्य परीक्षणसँगै भिडियो एक्स–रे, प्रयोगशाला परीक्षण तथा आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको थियो। शिविरको उद्घाटन गर्दै बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले आफ्नै पालिकामा विशेषज्ञ चिकित्सकबाट सेवा प्राप्त हुनु स्थानीय नागरिकका लागि महत्वपूर्ण अवसर भएको बताए। उनले प्राविधिक सहयोगका लागि संजीवनी टिचिङ हस्पिटलप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य सेवामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जोखिम ओलीले अतिथिहरूको स्वागत गर्दै दाङमै अत्याधुनिक स्वास्थ्य सेवासहित संजीवनी शिक्षण अस्पताल सञ्चालनमा आउनु खुसीको विषय भएको बताए। बबई गाउँपालिकाले आफ्नै आधारभूत अस्पतालबाट स्वास्थ्य सेवा विस्तार गरिरहेको उल्लेख गर्दै उहाँले आवश्यक सहकार्य र समन्वयका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
संजीवनी टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकसम्म विशेषज्ञ सेवा पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको बताए। उनले निःशुल्क उपचार, प्रारम्भिक रोग पहिचान, स्वास्थ्य सचेतना अभिवृद्धि, विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच तथा आवश्यक परे थप उपचारका लागि प्रेषण गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको जानकारी दिए। रोकाका अनुसार शिविरमा स्वास्थ्य परीक्षणसँगै ल्याब परीक्षण, भिडियो एक्स–रे तथा औषधि वितरणसमेत निःशुल्क गरिएको थियो।
शिविरबाट थप उपचार आवश्यक देखिएका बिरामीले संजीवनी अस्पतालमा उपचार गराउन आएमा औषधिबाहेक अन्य सेवामा २० प्रतिशतसम्म छुट उपलब्ध गराइने उनले जानकारी दिए। संजीवनी टिचिङ हस्पिटलका व्यवस्थापक मदनप्रसाद पन्थीले शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको बताए। उनका अनुसार तीन सय शैयाको शिक्षण अस्पतालमा विशेषज्ञ सेवाका अतिरिक्त न्युरो तथा युरोसम्बन्धी विशिष्टीकृत सेवा समेत सञ्चालनमा आइसकेका छन्।
अस्पतालमा क्रिटिकल केयरतर्फ आईसीयू, सीसीयू, एमआईसीयू, एनआईसीयू, पीआईसीयू, एसआईसीयू तथा एचडीयू सञ्चालनमा रहेको पन्थीले जानकारी दिए। त्यस्तै, रेडियोलोजी तथा डायग्नोस्टिक सेवातर्फ डिजिटल एक्स–रे, भिडियो एक्स–रे, म्यामोग्राफी, ईसीजी, इको, सीटी स्क्यान, एमआरआई, इन्टर्भेन्सनल इन्डोस्कोपी तथा कोलोनोस्कोपीलगायतका सेवा उपलब्ध रहेको उनले बताए। अस्पतालले आगामी दिनमा हेमोडायलासिस तथा कार्डियोलोजी सेवासमेत विस्तार गर्ने योजना बनाएको उनको भनाइ छ। स्वास्थ्य शिविरको संयोजन संजीवनी अस्पतालका प्रशासकीय अधिकृत सुशील रिजाल, बबई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि खड्का तथा बबई आधारभूत अस्पतालका प्रमुख शरदराज गिरीले गरे।
शिविरबाट सेवा लिएका गोनी ओली, मिनबहादुर बुढाथोकी, निर्मला डीसी लगायतका सेवाग्राहीले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श पाउँदा आफूहरू सन्तुष्ट भएको बताएका छन्। उनीहरूले भिडियो एक्स–रे, ल्याब परीक्षण र औषधिसमेत निःशुल्क प्राप्त गरेको भन्दै आयोजकप्रति आभार व्यक्त गरेका छन्। कार्यक्रमको सञ्चालन बबई गाउँपालिकाका प्रशासन अधिकृत कृष्णकुमार कँडेलले गर्नुभएको थियो।
शिविर सफल बनाउन गाउँपालिकाका वडा अध्यक्षहरू, कर्मचारी, स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी तथा स्थानीय स्वास्थ्यकर्मीहरूको समेत सक्रिय सहभागिता रहेको थियो। स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा, परीक्षण र औषधि निःशुल्क उपलब्ध भएपछि बबई क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउन शिविर महत्वपूर्ण बनेको आयोजकले जनाएको छ।

