लमहीमा गुरुकुल एकेडेमीको उत्कृष्ट सफलता

दाङ । दाङको लमहीस्थित गुरुकुल एकेडेमीले आधारभूत तह (कक्षा ८) को परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्दै लमही नगरपालिकाभित्र प्रथम स्थान हासिल गरेको छ। विद्यालयका शैक्षिक निर्देशक विवेक देवकोटाले जानकारी दिँदै गुरुकुलले छोटो समयमै शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको बताए । लमही नगरपालिकाले आज सार्वजनिक गरेको नतिजाअनुसार गुरुकुल एकेडेमी नगरभित्र उत्कृष्ट विद्यालयका रूपमा स्थापित भएको हो। विद्यालय सञ्चालनको मात्र दोस्रो वर्षमै यस्तो उल्लेखनीय उपलब्धि हासिल गर्नु गुरुकुलका लागि ठूलो सफलता मानिएको छ। यसले विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन र शिक्षण पद्धतिको प्रभावकारिता स्पष्ट रूपमा देखाएको छ।

यस वर्ष कक्षा ८ को परीक्षामा विद्यालयबाट १२ जना विद्यार्थी सहभागी भएका थिए, र सबै विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। विशेषगरी निजी विद्यालयहरूबीचको प्रतिस्पर्धामा शतप्रतिशत नतिजा ल्याउने एकमात्र विद्यालय बन्न सफल भएको गुरुकुलले जनाएको छ।विद्यालय प्रशासनका अनुसार अनुभवी शिक्षक टोली, नियमित मूल्याङ्कन प्रणाली, विद्यार्थी–केन्द्रित शिक्षण विधि तथा अभिभावकसँगको समन्वयले यस्तो उपलब्धि सम्भव भएको हो। साथै, विद्यार्थीहरूमा अनुशासन, मेहनत र आत्मविश्वास विकास गर्न विद्यालयले विशेष ध्यान दिँदै आएको पनि बताइएको छ।

शैक्षिक निर्देशक देवकोटाले आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्यसहित विद्यालयले थप नविन शिक्षण प्रविधि र कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । उनले विद्यार्थी, शिक्षक तथा अभिभावकको संयुक्त प्रयासले नै यस्तो सफलता सम्भव भएको भन्दै सबैलाई धन्यवाद व्यक्त गरे ।गुरुकुल एकेडेमीको यस सफलताले लमही क्षेत्रको शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश दिएको छ भने अन्य विद्यालयहरूलाई पनि गुणस्तरीय शिक्षा प्रदान गर्न प्रेरित गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस