बजारमा युएनभीका सिसिटिभी क्यामेरा लोकप्रिय

दाङ ।  पछिल्लो समय सुरक्षा निगरानीका लागि सिसिटिभी क्यामेराको प्रयोग बढ्दै गएको छ। घर तथा व्यवसायिक प्रतिष्ठानदेखि सरकारी कार्यालय, होटल र ठूला कम्पनीसम्म सिसिटिभी क्यामेरा प्रयोग गर्ने क्रम बढिरहेको छ। पछिल्लो समय सिसिटिभी प्रविधि पनि कृत्रिम बुद्धिमत्ता (AI) सँग जोडिँदै गएपछि सुरक्षा निगरानी अझ प्रभावकारी बन्दै गएको व्यवसायीहरूको भनाइ छ। यसैबीच UNV (युएनभी) कम्पनीका स्मार्ट तथा एआई प्रविधिमा आधारित सिसिटिभी क्यामेरा नेपाली बजारमा लोकप्रिय बन्दै गएका छन्। कम्पनीका उत्पादनमध्ये करिब ३ हजार रुपैयाँदेखि साढे ७ लाख रुपैयाँसम्म मूल्य पर्ने क्यामेरा बजारमा उपलब्ध रहेको कम्पनीका हेड अफ सेल्स म्यानेजर सर्धक अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार युएनभीले IP प्रविधिलाई सुरुदेखि नै प्राथमिकतामा राख्दै स्मार्ट सुरक्षा प्रणाली विकास गर्दै आएको छ। अहिलेका आधुनिक सिसिटिभी क्यामेरामा एआई प्रविधिको प्रयोगमार्फत सामान्य भिडियो रेकर्डिङभन्दा अगाडि बढेर मानिस तथा सवारीसाधन पहिचान, गतिविधि विश्लेषण, नम्बर प्लेट पहिचान तथा विभिन्न असामान्य गतिविधिको निगरानी गर्न सकिने सुविधा उपलब्ध हुँदै गएको उनले बताए। नेपालमा प्रयोग भइरहेका धेरै Wi-Fi तथा स्मार्ट होम सिसिटिभी  क्यामेरामा भिडियो स्टोरेजका लागि मेमोरी कार्ड प्रयोग गरिन्छ। यस्ता क्यामेरामा सीमित क्षमताअनुसार केही दिनदेखि तीन–चार महिनासम्मको भिडियो सुरक्षित हुने र त्यसपछि पुराना भिडियो हट्दै जाने गर्छ।

तर ,युएनभी का केही सिसिटिभी  क्यामेरामा कम लागतमा क्लाउड स्टोरेजको सुविधा उपलब्ध रहेको अधिकारीले बताए। यसले प्रयोगकर्तालाई भिडियो सुरक्षित राख्नका लागि पटक–पटक मेमोरी कार्ड परिवर्तन वा थप्नुपर्ने झन्झट कम गर्ने उनको भनाइ छ। युएनभीका केही क्यामेरा घाम, पानी तथा धुलोबाट सुरक्षित हुने भएकाले घरभित्र तथा बाहिर दुवै स्थानमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। सरकारी कार्यालय, होटल तथा ठूला व्यावसायिक प्रतिष्ठानमा पनि आवश्यकताअनुसार विभिन्न क्षमताका स्मार्ट क्यामेरा प्रयोग हुँदै आएका छन्।

कम्पनीले सन् २०२५ मा बजारमा ल्याएको आउट भ्यु’ क्यामेराले रातिको समयमा पनि दिनको जस्तै स्पष्ट भिडियो खिच्न सक्ने अधिकारीको दाबी छ। एआई तथा आधुनिक इमेज प्रोसेसिङ प्रविधिको प्रयोगले कम प्रकाशमा समेत निगरानीलाई प्रभावकारी बनाउन सहयोग गर्ने उनले बताए। त्यस्तै, युएनभीका ANPR (Automatic Number Plate Recognition) क्यामेरा पनि नेपालका विभिन्न स्थानमा प्रयोग भइरहेका छन्। यी क्यामेराले देवनागरीमा लेखिएका सवारी नम्बर प्लेटसमेत पहिचान तथा रेकर्ड गर्न सक्ने बताइएको छ।

काठमाडौंलगायत विभिन्न सरकारी कार्यालय तथा राजमार्गमा प्रयोग भइरहेका यस्ता एआई क्षमतायुक्त क्यामेराले सवारीसाधनको नम्बर प्लेटसँगै चालकले सिट बेल्ट लगाए/नलगाएको, सवारीको गति, चालकले मोबाइल प्रयोग गरे/नगरेको तथा सवारीले लेन पालना गरे/नगरेको जस्ता गतिविधि पहिचान तथा रेकर्ड गर्न सहयोग गर्ने अधिकारीले बताए। यसले ट्राफिक व्यवस्थापन, सार्वजनिक सुरक्षा तथा घटनाको अनुसन्धानमा समेत प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउन सक्ने उनको भनाइ छ।

कम्पनीले आफ्ना उत्पादन बिक्री तथा वितरणका लागि नेपालका विभिन्न जिल्लामा डिलर नेटवर्क विस्तार गरेको छ। हाल कम्पनीले प्रत्यक्ष अनलाइन बिक्री नगरे पनि आधिकारिक डिलरमार्फत क्यामेरा खरिद गर्न सकिने जनाएको छ।  सिसिटिभी क्यामेरासँगै कम्पनीले आगामी दिनमा इभि चार्जिङ स्टेसन तथा हाइब्रिड सोलार इन्भर्टर लगायतका उत्पादन नेपाली बजारमा ल्याउने तयारीसमेत गरिरहेको अधिकारीले जानकारी दिए।

तुलसीपुरस्थित डिजिटल इलेक्ट्रोनिक्स वल्र्डका सञ्चालक प्रकाश श्रेष्ठका अनुसार पछिल्लो समय युएनभीका सिसिटिभी क्यामेरा सेवाग्राहीमाझ लोकप्रिय बन्दै गएका छन्। श्रेष्ठले आफूले विगत तीन वर्षदेखि युएनभीका सिसिटिभी  क्यामेरा बिक्री गर्दै आएको बताए। उनका अनुसार क्यामेराको भिडियो गुणस्तर दिन र रात दुवै समयमा राम्रो हुनुका साथै नयाँ प्रविधि र एआईमा आधारित सुविधाका कारण ग्राहकको आकर्षण बढेको हो। सामान्यतया चारवटा सिसिटिभी क्यामेरा जडान गर्दा करिब ३५ हजारदेखि ५० हजार रुपैयाँसम्म खर्च लाग्ने उनले बताए।

ग्राहकको आवश्यकता र बजेटअनुसार अझ महँगा तथा उच्च प्रविधियुक्त क्यामेरा पनि उपलब्ध रहेको श्रेष्ठको भनाइ छ।पछिल्लो समय साविक राप्तीका जिल्लाहरूमा समेत युएनभीका सिसिटिभी क्यामेरा प्रयोग गर्नेको संख्या बढ्दै गएको उनले बताए। व्यवसाय प्रवर्द्धनका लागि कम्पनीले गत आर्थिक वर्षमा सबैभन्दा बढी क्यामेरा बिक्री गर्ने १० जना व्यवसायीलाई विदेश भ्रमणमा लैजाने कार्यक्रम समेत ल्याएको श्रेष्ठले जानकारी दिए।

आगामी दिनमा सिसिटिभी क्यामेरा खरिद गर्ने ग्राहकलाई लक्षित गरी उपहार कार्यक्रम ल्याउने तयारी भइरहेको उनले बताए। सुरक्षा निगरानीको आवश्यकता बढ्दै जाँदा एआई, क्लाउड स्टोरेज, ANPR तथा स्मार्ट भिडियो एनालिटिक्स जस्ता प्रविधिसहितका सिसिटिभी  क्यामेराको प्रयोग नेपालमा अझ विस्तार हुँदै जाने व्यवसायीहरूको अपेक्षा छ।

प्रकाशित मिति : २०८३ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस