गुरुकुलको त्रिपक्षीय मैत्रीपूर्ण फुटसलमा गुरुकुल तुलसीपुर च्याम्पियन, घोराही उपविजेता
दाङ। गुरुकुल एकेडेमी घोराहीको आयोजनामा सम्पन्न त्रिपक्षीय मैत्रीपूर्ण फुटसल प्रतियोगितामा गुरुकुल एकेडेमी तुलसीपुरले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ । गुरुकुल एकेडेमी घोराही उपविजेता बनेको छ । विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, टिमवर्क र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा गुरुकुल एकेडेमी घोराही, गुरुकुल एकेडेमी लमही र गुरुकुल एकेडेमी तुलसीपुरका विद्यार्थी टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा तुलसीपुरले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो भने आयोजक घोराही दोस्रो स्थानमा रह्यो । प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
व्यक्तिगत विधातर्फ गुरुकुल एकेडेमी तुलसीपुरका करण बिष्ट उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै, गुरुकुल एकेडेमी लमहीका अभियान केसी उत्कृष्ट गोलरक्षक घोषित भए । प्रतियोगिताभर खेलाडीहरूले प्रदर्शन गरेको कौशल, अनुशासन र प्रतिस्पर्धात्मक खेल भावनाले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको थियो । गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक प्रदीप राजभण्डारीले खेलकुद विद्यार्थीको सर्वाङ्गीण विकासको महत्वपूर्ण माध्यम भएको बताए । उनले तीनवटै शाखाका विद्यार्थीलाई एउटै मैदानमा ल्याएर मैत्रीपूर्ण प्रतिस्पर्धा गराउनुको उद्देश्य केवल जित–हार नभई विद्यार्थीबीच आपसी सम्बन्ध, मित्रता र सहकार्यको भावना विकास गर्नुपर्ने बताए ।
उनले भने विद्यार्थीको प्रतिभा कक्षाकोठाभित्र मात्र सीमित हुँदैन । खेलकुदका माध्यमबाट पनि उनीहरूले आफ्नो क्षमता प्रस्तुत गर्न सक्छन् । यस्ता प्रतियोगिताले विद्यार्थीमा अनुशासन, नेतृत्व र टिमवर्कको भावना विकास गर्नुका साथै तीनवटै शाखाबीचको सम्बन्धलाई अझ बलियो बनाउँछ । गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले प्रतियोगितामा प्रथम स्थान हासिल गर्नु खुसीको विषय भए पनि विद्यार्थीले खेलमार्फत सिकेको अनुशासन, सहकार्य र खेल भावना अझ महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने प्रतियोगिताको उपाधि जित्नु खुसीको कुरा हो, तर हाम्रा विद्यार्थीले मैदानमा देखाएको अनुशासन, आत्मविश्वास र टिम भावना अझ ठूलो उपलब्धि हो । यस्ता गतिविधिले विद्यार्थीमा रहेको प्रतिभा पहिचान गर्न र त्यसलाई थप निखार्न महत्वपूर्ण भूमिका खेल्छ । त्यस्तै, गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक विवेक देवकोटाले विद्यार्थीको शैक्षिक विकाससँगै शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अपरिहार्य रहेको बताए । उनले तीनवटै विद्यालयबीच भएको मैत्रीपूर्ण प्रतियोगिताले विद्यार्थीमा प्रतिस्पर्धासँगै मित्रता र सहकार्यको संस्कार विकास गरेको उल्लेख गरे ।
उनले भने खेलकुदले विद्यार्थीलाई हार स्वीकार गर्न, जितमा संयमित हुन र टिमका लागि जिम्मेवारीपूर्वक खेल्न सिकाउँछ । त्यसैले पढाइसँगै यस्ता अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयले प्राथमिकतामा राख्नुपर्छ । आगामी दिनमा पनि तीनवटै शाखाबीच यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ । प्रतियोगिताले विद्यार्थीहरूबीच आपसी परिचय र आत्मीयता बढाउनुका साथै स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गरेको विद्यालयले जनाएको छ । विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका कारण प्रतियोगिता निकै आकर्षक र रोमाञ्चक बनेको थियो ।
गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक प्रदीप राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण विद्यालयका संयोजक भुवन आचार्यले गरे । विद्यालयले पढाइसँगै खेलकुद, कला, संस्कृति तथा अन्य अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको जनाएको छ । त्रिपक्षीय मैत्रीपूर्ण फुटसल प्रतियोगितालाई पनि सोही अभियानको निरन्तरताका रूपमा लिइएको छ ।

