प्रदेश सांसदलाई संघको लोभः न प्रदेशमा रहे, न संघमा पुग्न सके
दाङ। प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता हुनु केही दिनअघि ४ जना लुम्बिनी प्रदेशसभाका सदस्य हतारहतारमा राजीनामा दिएर उम्मेदवार बनेका थिए । यसरी राजिनामा दिने प्रदेश सांसदहरुमा रूपन्देहीका कन्हैया बानियाँ, दाङका धनबहादुर मास्की, बर्दियाका धर्मबहादुर चौधरी र बाँकेकी कृष्णा केसी ‘नमुना’ हुन् । डेढ वर्ष कार्यकाल बाँकी हुँदाहुँदै प्रदेशसभाको पद छाडेर संघीय चुनावमा होमिएका यी प्रदेश सांसद मध्य १ जना मात्रै निर्वाचित भए भने बाँकी भने पराजित भए ।
बाँके क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेद्वार बनेकी कृष्णा केसी ‘नमुना’को त जमानत समेत जफत भएको छ । केसीले जम्मा १ हजार २४० मत मात्रै ल्याएकी छिन् ।
यस अघि केसी नेकपा माओवादीबाट प्रदेशसभामा निर्वाचित भएकी थिइन् । उनी प्रदेशसभाबाट राजीनामा दिएर प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेद्वार बनेको थिइन् । बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशचन्द्र चौधरी ३२ हजार ७९२ मत ल्याएर निर्वाचित हुँदा केसी भने पाँचौ भइन् ।
त्यस्तै, प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया–२ मा निर्वाचित धर्मबहादुर चौधरीले पनि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर उज्यालो नेपाल पार्टीबाट बर्दिया–२ मा उम्मेदवारी दिएका थिए । अन्तिम समयमा रेसम चौधरीको नागरिक उन्मुक्ति पार्टी छाडेर नयाँ पार्टीतिर लागेका उनी पूर्वमन्त्रीसमेत हुन् ।
उनले ४ हजार ४७२ मत ल्याएर पाँचौँ स्थानमा सीमित भएका छन् । यहाँबाट रास्वपाका श्रीधर पोखरेल २९ हजार ६७८ मत ल्याएर निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशमा प्रदेशसभाको पद छाडेर संघीय निर्वाचनमा जाने लोभमा पराजित हुनेमध्ये नेकपाका धनबहादुर मास्की पनि एक हुन् ।
प्रदेशका पूर्वमन्त्रीसमेत रहेका मास्कीले दाङ–३ मा ९ हजार ३२८ मत ल्याएर चौथो स्थानमा चित्त बुझाउनु परेको छ । यहाँबाट रास्वपाका कमल सुवेदी ४४ हजार २४४ मत ल्याएर निर्वाचित भएका छन् ।
३ जना पराजित हुँदा १ जनाले भने जिते
लुम्बिनी प्रदेशसभाबाट राजीनामा दिएर प्रतिनिधिसभाको जान जोख्ने मध्य एक जना भने सफल भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेद्वार बनेका कन्हैया बानियाँ २८ हजार ६६ मत ल्याएर प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।
२०७९ को प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित कन्हैया बानियाँ अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।
त्यसबेला प्रदेशसभामा लोसपाबाट बानियाँ निर्वाचित हुँदा प्रतिनिधिसभामा सोही पार्टीका सर्वेन्द्रनाथ शुक्लाले जितेका थिए । अहिले बानियाँले पूर्वमन्त्रीसमेत रहेका सर्वेन्द्रनाथ शुक्ला र २०७४ सालमा निर्वाचित प्रमोद कुमार यादवलाई पराजित गरि बानियाँले जित हासिल गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार प्रमोद कुमार यादवले २० हजार २६२ मत प्राप्त गरेका छन । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६१३ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी (जसपा), नेपालका सर्वेन्द्रनाथ शुक्लाले ३ हजार ४१० मत प्राप्त गरी तेस्रो भए ।

