प्राङ्गारिक मललाई सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक उत्पादनलाई प्रवर्द्धन गर्न प्राङ्गारिक मल उत्पादनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । शुद्धोधन गाउँपालिका १ मानपकडीस्थित सर्मिला इन्टिग्रेटेड एग्रिकल्चर फर्मको अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो रासायनिक मलको अभावलाई प्राङ्गारिक मलले पूर्ति गर्ने भएकाले यसलाई प्राथमिकतामा राखिएको बताए । उनले प्राङ्गारिक मल उत्पादनका लागि सामुदायिक सङ्घसंस्था, निजी क्षेत्र र उद्यमीसँग साझेदारी गर्नेगरी सरकारले वातावरण बनाउने पनि बताए ।

स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन कृषि क्षेत्रको योगदान अतुलनीय रहेको भन्दै उनले रोजगारी सिर्जनाको आधार पनि स्थानीय उत्पादन नै भएको उल्लेख गरे । ‘ अहिले देखिएको मलको समस्या कम गर्न प्राङ्गारिक मल र कम्पोस्ट मल नै सक्षम छन् । हाम्रा परम्परागत अभ्यासलाई पुनर्ताजगी गरेर अघि बढाउन सकिन्छ,‘ उनले भने,‘ वनजङ्गलमा खेर गइरहेका पातपतिङ्गर सङ्कलन गरेर कम्पोस्ट मल बनाउन सकिन्छ । गौशालामा यो अभियान सुरु भएको छ ।

किसानका गोठलाई सुधार गरेर मलमूत्रबाट समेत प्राङ्गारिक मल बनाउन सकिने अभ्यासलाई अभियानका रुपमा लैजान जरुरी छ ।’ मुख्यमन्त्री आचार्य सहित अनुगमनमा सहभागी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले किसानले भोगिरहेको रासायनिक मलको समस्या समाधान गर्न प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

उद्यमी सीपी शर्माले अर्गानिक उत्पादनमा जोड दिँदै राज्यले सहयोग गरे यो अभियानलाई अझ व्यापक बनाउन सकिने बताए । दैनिक ४० टन र वार्षिक १५ हजार टन प्राङ्गारिक मल उत्पादन गर्ने योजना सुरु गर्न सकिने र यसका लागि लगानी खोज्ने कार्य भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ भाद्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस