दाङमा असिनापानीले तरकारी खेतीमा क्षति
दाङ । बिहीबार दिउँसो परेको असिनापानीले तुलसीपुर उपमहानगरपालिका –२ कुमलगढी, तथा दंगीशरण गाउँपालिका –५ का विभिन्न गाउँमा लगाइएको तरकारी खेतीमा ठूलो क्षति पुगेको छ । बिक्रीको तयारीमा रहेको तरकारी बाली नष्ट हुँदा किसानहरूले लाखौँ रुपैयाँ बराबरको क्षति ब्यहोर्नुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । तुलसीपुर– २ कुमलगढीकी जगन्या चौधरीले दुई स्थानमा गरी करिब ७ कठ्ठा जमिनमा लगाएको तरकारी असिनापानीका कारण पूर्ण रूपमा नष्ट हुँदा ५ लाख रुपैयाँ बढि क्षति पुगेको छ । करिब २५ वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आइरहेकी चौधरीले अहिलेसम्म यस्तो ठूलो क्षति कहिल्यै नबेहोरेको बताइन ।उनले भनिन्,‘ यस्तो ठुलो क्षति अहिलेसम्म भोगेको थिएनौँ ।

तर, यो पटक सबै तरकारी सखाप भयो । साँझ तरकारी टिपेर भोलि बजार बेच्न लैजाने सोच थियो । तर, दिउँसो परेको असिना पानीले सबै सकिदियो ।’ यस्तै उनले बारीमा लगाएका बौरी, काँक्रा, करेला, खोर्सानी, भिन्डी लगायत सबै तरकारी नष्ट भएको भन्दै स्थानीय सरकारसँग राहतको अपेक्षा गरिन् । उनले भने,‘ निकै दुख मेहनतले तरकारी खेती गरेका थियौँ । अब बिक्री गर्ने तयारी रहेको बेला यो अवस्था भयो । हामीहरूको मुख्य पेशा नै यो नै हो । अरु नभएपनि अब फेरि खेती गर्नको लागि बिउँ, मल लगायत किन्नको लागि राहत पाएपनि हुने थियो ।’ उनका अनुसार एका तिर तरकारीको बजार मूल्य नपाउने र अर्कोतर्फ असिनापानीले नै नष्ट गरिएको छ ।
सोही ठाउँकी किसान हरिकला चौधरीले पनि ६ कठ्ठा जमिनमा लगाएको तरकारी असिनापानीले पूर्ण रूपमा नष्ट भएको बताइन् । कृषि नै मुख्य पेशा भएको भन्दै उनले बिक्रीको लागि तयार रहेको तरकारी क्षणभरमै सखाप भएपछि लाखौँको नोक्सानी भएको बताइन । उनका अनुसार स्थानीय सरकारले आफूहरूलाई बीउ र मलका लागि राहत उपलब्ध गराइदिए पुनः खेती गर्न सहज हुने थियो । उनले भनिन्,‘ हामीले यहाँ उत्पादन गरेको तरकारी तुलसीपुर बजार लगेर बच्ने गर्दछौँ । तर, मूल्य भनेजस्तो पाइदैन्, सस्तो मूल्यमा बिक्री गर्दा पनि घरखर्च चलाउन गरेका थियौँ । तर, अब तरकारी सबै नष्ट भएपछि समस्या हुने भयो ।’

असिनापानीबाट भएको क्षतिको जानकारी पाएलगत्तै उपमहानगरपालिकाको कृषि शाखाको टोली प्रभावित क्षेत्रमा पुगेर अनुगमन गरेको र क्षतिको मूल्याङ्कनका आधारमा न्यूनतम राहत उपलब्ध गराउने नगरप्रमुख टिकाराम खड्काले बताए । उनका अनुसार स्थानीय सरकारले धेरै नसकेपनि किसानहरूलाई थोरै राहत दिएर यो पीडाको समयमा मलमपट्टी लगाउने काम गर्ने छ । यो ठाउँमा करिब २५ बिगाहामा बेमौसमी तरकारी खेती गरिएको थियो । करिब १५ बिगाहा जमिनमा लगाएको तरकारी खेतीमा असिना पानीले क्षति पु¥याएको छ ।


