रोल्पामा विद्युत् र फोन नेटवर्क पाँच दिनदेखि अवरुद्ध

रोल्पा । रोल्पा जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् तथा फोन नेटवर्क सेवा पाँच दिनदेखि अवरुद्ध हुँदा स्थानीयवासी समस्यामा परेका छन् । लामो समयदेखि विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा दैनिक जनजीवन प्रभावित भएको छ ।विद्युत् सेवा नहुँदा घरायसी कामकाज, व्यवसाय तथा विभिन्न कार्यालयका काम प्रभावित भएका छन्। त्यस्तै, फोन नेटवर्क अवरुद्ध हुँदा आफन्त तथा अन्य व्यक्तिसँग सम्पर्क गर्न समेत कठिनाइ भएको स्थानीय त्रिवेणी गाउँपालिका वडा नम्बर ७ की गिता डाँगीले बताइन् ।

लामो समयसम्म सञ्चार सेवा अवरुद्ध हुँदा अत्यावश्यक सूचना आदानप्रदानमा समेत समस्या भएको स्थानीय त्रिवेणी गाउँपालिका वडा नं. ५ जुगारका अर्जुनकुमार वलीले बताए । विद्युत् र फोन नेटवर्कजस्ता आधारभूत सेवा लामो समयसम्म अवरुद्ध हुँदा ग्रामीण क्षेत्रका नागरिकले थप समस्या भोग्नुपरेको उनको भनाइ छ।

स्थानीयवासीले अवरुद्ध विद्युत् तथा सञ्चार सेवा तत्काल सञ्चालनका लागि सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने माग गरेका छन्। सेवा कहिलेसम्म नियमित हुन्छ भन्ने स्पष्ट जानकारी नहुँदा स्थानीय त्रिवेणी गाउँपालिका ७ का दिनेश बुढाथोकीले थप अन्योल बढेको उनीहरूको भनाइ छ । विद्युत् तथा सञ्चार सेवा पुनः सञ्चालनका लागि सम्बन्धित निकायबाट आवश्यक मर्मत तथा व्यवस्थापनको काम छिटो अघि बढाउन स्थानीयवासीले आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस