स्थानीय तहलाई १५ शैया अस्पताल सञ्चालन गर्न समस्या

दाङ । २०७७ साल मङ्सिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैसाथ देशभरका धेरै स्थानीय तहमा आधारभुत अस्पतालहरूको शिलान्यास गरेका थिए । तर, जिल्लाका केही स्थानीय तहमा निर्माण सम्पन्न भएको लामो समय भएयता पनि सञ्चालनमा ल्याउन सकेका छैन्, भने केही ठाउँमा निर्माण भइरहेको छ । दाङको बबई गाउँपालिका ३ हंसपुरमा १५ शैयाको अस्पताल निर्माण सम्पन्न भएको करिब एक वर्ष हुन लाग्यो । तर, अहिलेसम्म अस्पताल सञ्चालनमा आउन सकेको छैनन् । स्थानीय सरकारको स्रोत साधनले अस्पताल सञ्चालनमा गर्न नसक्ने र संघीय सरकारबाट सहयोग भए सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीले बताए ।

उनका अनुसार स्थानीय सरकारको स्रोत साधनबाट १५ सैया अस्पतालमा डाक्टर तथा कर्मचारीहरूको व्यवस्था गर्न समस्या हुन्छ । अस्पतालको भवन निर्माण भएपनि प्रदेश र संघ सरकारले सहयोग गरेमात्र सञ्चालन गर्न सकिने उनकोभनाइ छ । उनले भने,‘ डाक्टर तथा अन्य जनशक्ति र अस्पतालमा लाग्ने उपकरणको व्यवस्थापन गर्न सकिँदैन । हामीले केही समय अगाडि संघीय सरकारसँग माग गर्ने भनेर सभाबाट पास गरेका छौँ ।’शान्तिनगर गाउँपालिका २ मा पनि १५ शैयाको अस्पताल अहिले पनि निर्माणाधीन अवस्थामा रहेको छ । यो अस्पताल निर्माण सम्पन्न हुन अझै करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ । दंगीशरण गाउँपालिका ६ बागरमा पनि १५ शैयाको अस्पताल निर्माण सम्पन्न भएको लामो समय भयो । अस्पताल छिट्टो सञ्चालनमा आएमा बिरामीलाई सेवा दिन सहज हुने गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दशरथ गिरीले बताए ।

उनका अनुसार अहिले बागरमा रहेको बागर स्थित श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको ठाउँमा १५ सैयाको अस्पताल निर्माण भएको छ । अहिले स्वास्थ्य केन्द्रबाट बिरामीहरूले विभिन्न सेवा प्रदान गर्दै आइरहेको भन्दै उनले केही समयदेखि रेबिज विरुद्धको खोप दिन शुरु गरिएको पनि बताए । उनले भने,‘ राप्ती प्रादेशिक अस्पताल पछि पश्चिम दाङमा बागरमा यो सेवा शुरु भएको छ । १५ सैयाको अस्पताल सञ्चालनमा आए हामीलाई अन्य सेवाहरू दिन पनि सहज हुन्छ ।’ यता गाउँपालिकाका अध्यक्ष शम्भु गिरीका अनुसार अस्पतालको लागि जनशक्ति व्यवस्थापन तथा उपकरणहरू पनि आइसकेको हुँदा अबको केही दिनमा सञ्चालन गर्ने तयारी रहेको छ । उनले भने,‘ अस्पतालका लागि डाक्टरसहित २९ जनाको जनशक्ति भर्ना गर्ने व्यवस्था रहेको छ । त्यो हामीले गरिसकेका छौँ । अस्पताललाई चाहिने उपकरणहरू पनि आइसकेको छ । हामी केही दिनमा अस्पताल सञ्चालन गर्ने तयारीमा छौँ ।’

उनले अहिले गाउँपालिकाको आयस्रोतबाट अस्पताल सञ्चालन गर्नेको लागि सुरुवाती गर्ने र बिचमा आर्थिक अभाव भएको खण्डमा संघ र प्रदेश सरकारलाई आग्रह गर्ने समेत बताए । कोरोना महामारीको दोस्रो लहरमा तुलसीपुर उपमहानगरपालिकाले कोरोना सङ्क्रमितहरूको उपचारको लागि १५ सैयाको तुलसीपुर भिमसेन मेट्रो अस्पताल सञ्चालनमा ल्याएको थियो ।कोरोनाको समयमा रहेका ६० भन्दा बढि बेडहरू रहेको र अस्पतालमा सर्जन डाक्टरसहित एक्सरे, भिडियो एक्सरे, ल्याब, २४ घण्टा सुत्केरी सेवा, ओपिडी र इमर्जेन्सी सेवा सञ्चालित छन् । हाइड्रोसिल, हर्निया तथा गाँठागुठी पलाएको अप्रेसन सेवा पनि छ, तर अस्पतालमा बिरामी सेवा लिन एकदमै कम मात्रामा जाने गर्दछन् । मेट्रो अस्पतालको सेवामा अन्य निजी अस्पताल मात्रै नभइ राप्ती प्रादेशिक अस्पतालको तुलनामा पनि न्यून शुल्क रहेको उपमहानगरका नगर प्रमुख टिकाराम खड्काले बताए । अस्पतालमा अप्रेसन गरेर बच्चा जन्माउने सेवा सञ्चालनका लागि संरचना तयार भइसकेको छ । केही दिनमा सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस