‘प्रचण्ड’ नेतृत्वको सरकार जनतामा लोकप्रिय भएको छ : उपमहासचिव पुन

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ नेतृत्वको सरकार जनतामा  लोकप्रिय भएको बताए । शनिबार पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा बोल्दै उनले वर्तमान सरकार इतिहासकै लोकप्रिय सरकार भएको बताए । उनले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण सरकारलाई जनताले मन पराएको समेत बताए ।

मुलुकलाई सही नेतृत्व गर्न सक्ने शक्ति आफ्नो दल र नेता प्रधानमन्त्री पुष्पकमल दाहालमा भएको तर्क समेत उनले गरे । उनले सोही क्षमताका कारण प्रतिनिधिसभामा तेस्रो शक्ति भएर पनि आफ्ना अध्यक्षले सरकारको नेतृत्व गरिरहेको र दाहाल माओवादीको मात्र नभई कांग्रेस र एमालेको समेत नेता भएको दाबी गरे ।

गत मंसिरमा सम्पन्न आम निर्वाचनमा पार्टीले करिब ११ प्रतिशत मत पाए पनि सरकारको कामबाट ९० प्रतिशत जनता खुसी भएको समेत बताए । उनले आफ्नो अध्यक्ष नेतृत्वको वर्तमान गठबन्धन सरकारको सम्पूर्ण ध्यान मुलुकबाट भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने र त्यसको जगमा समृद्धिमा जाने रहेको समेत बताए ।

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस