लुम्बिनीका मुख्यमन्त्री चौधरीले बैशाख १८ गते विश्वासको मत लिने

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले बैशाख १८ गते सोमवार विश्वासको मत लिने भएका छन् ।  नयाँ गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठक समेत शुक्रबार नै बसेको थियो ।  बैठकले सोमवार विश्वासको मत लिने निर्णय गरेको विनाविभागीय मन्त्री सन्तोष कुमार पाण्डेले बताए ।

पहिलो बैठकले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै त्यसको बजारीकरण गर्ने प्रदेशमा रहेका विभिन्न बस्तुको उपयोग गर्दै कार्यकाल अवधिमा २ लाख रोजगारी सिर्जना गर्ने निर्णय भएको छ । त्यसै गरेर पर्यटन क्षेत्रलाई प्रमुख केन्द्रमा राखेर पर्यटकीय प्रदेश निर्माण गर्ने र यसका लागि हदै सम्मको प्रयास गरि परिणाममा प्रमाणित गर्ने निर्णय गरेको मन्त्री पाण्डेयले बताए ।

प्रदेश सरकार गाउँ गाउँ र घर घरमा छ , भन्ने अनुभूति हुने गरि काम गर्ने  निर्णय गरेको उनको भनाइ छ । यस्तै यसैगरी संसदीय कानुन निर्माण कार्यदल गठन गर्ने निर्णय समेत गरिएको छ । यस्तै  नवनियुक्त  मुख्यमन्त्री  चौधरीले राजधानी व्यवस्थापन गर्ने आफूहरूको पहिलो प्राथामिकतामा रहेको बताए ।

शुक्रबार शपथ ग्रहणपछि प्रदेश राजधानी भालुबाङमा पदभार ग्रहण गर्दै उनले राजधानीमा धेरै अवरोध भएको भन्दै आफू मन्त्री भएको बेलामा अगाडि बढाएको बताए ।उनले भने,‘ यो राजधानीमा धेरै अवरोधहरू रहेका थिए । त्यो अवरोध हटाउँदै  यसका विरुद्धमा परेका मुद्दाहरूलाई पन्छाउँदै यसको टेन्डर प्रक्रियालाई म शहरी विकास मन्त्री हुँदा अगाडि बढाएको थिए ।

अहिले फेरि यसलाई व्यवस्थित गर्न हाम्रो काँधमा दायित्व आएको छ । यसलाई व्यवस्थित गर्न हाम्रो पहिलो प्राथामिकता हुने छ । ’ यस्तै उनले गठबन्धन बीच भएको आपसी सहमतिका आधारमा छिट्टै सरकारलाई पूर्णता दिने समेत बताए । उनले लामो समय देखि रोक्का रहेको राजधानी क्षेत्रको जग्गा फुकुवाको विषयमा भने आफ्नो नेतृत्वको सरकारले विश्वासको मत लिएपछि सबै सरोकारवालाहरूसँग छलफल गरेर निर्णय लिने समेत बताए । 

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनसँग सपथ ग्रहण लिएपछि उनले  स्थायी राजधानी राप्ती उपत्यका देउखुरी स्थित मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आई पदभार ग्रहण गरेका  थिए ।  उनी संविधानको धारा १६८ को उपधारा २ बमोजिम  प्रदेशको चौथो मुख्यमन्त्री नियुक्त भएका हुन् ।  उनलाई  मन्त्रालयका सचिव सहित अन्य कर्मचारीहरूले पदभार ग्रहण गराउनुका साथै  स्वागत समेत गरेका थिए ।

प्रकाशित मिति : २०८० बैशाख १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस