प्रादेशिक आयुर्वेद चिकित्सालयमा बिरामी चाप बढ्दा बेडको अभाव

दाङ । तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयले पछिल्लो समय विशेषज्ञ सेवा दिन थालेपछि बिरामीहरूको चाप बढ्दै गएको छ । दैनिक सयौँको सङ्ख्यामा बिरामीहरू सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ । बिरामीहरू चाप बढ्दै गएपनि ३० बेडसम्मको अस्पताल हुँदा बिरामीहरूलाई सेवा दिन समस्या हुने गरेको अस्पतालका निमित्त निर्देशक डाक्टर सन्तोष कुमार ठाकुरले बताए ।

उनका अनुसार अस्पतालमा विशेषज्ञ सेवा बिस्तार गरेपछि ओपिडीमा दिनदिनै बिरामीहरूको संख्या बढ्दै गएको छ । उनले भने,‘ इन्डोरमा हाम्रो ३० बेडको क्षमता छ । अहिले २८ /  २९ जना बिरामीहरू भर्ना भएका छन् । अब बिरामीहरू थपिएमा राख्ने ठाउँ छैन् । सेवाको गुणस्तरीयतालाई बढाउँदै गएपछि बिरामीहरू सेवा लिन आउने क्रम पनि बढ्दै गएको छ । ’ यस्तै उनले आफू आएको करिब एक वर्ष भएको भन्दै यहाँ भएको भौतिक पूर्वाधारबाट नै सक्दो सेवा दिइरहेको पनि उल्लेख गरे ।

उनका अनुसार अस्पताललाई ५० बेडसम्म स्तरोन्नति गर्ने प्रदेश सरकारको नीति र कार्यक्रममा आएको भएयता पनि अहिलेसम्म मन्त्रिपरिषद्बाट निर्णय भएको छैन् । उनले भने,‘ प्रदेश सरकारबाट त्यो स्वीकृत भएपछि अस्पतालमा बहिरङ्ग र अन्तरङ्गको भवन निर्माण हुने थियो । अस्पतालमा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला र कर्णाली प्रदेशका केही जिल्लाहरुबाट बिरामीहरू उपचार गर्न आउने गर्छन् ।

अस्पतालमा अहिले विशेषज्ञ स्तरमा पञ्चकर्म, शल्य, शालाक्य, बालरोगका सेवाहरू प्रदान गर्दै आएको र अबको केही समयमा स्त्री रोगमा आयुर्वेदको पद्धतिमा सेवा प्रदान तयारी रहेको निर्देशक डा। ठाकुरले बताए । यस्तै जन्मेदेखि ५ वर्षसम्मका बच्चाहरूको लागि स्वर्ण बिन्दु प्राशन कार्यक्रम सञ्चालन भइरहेको पनि उनको भनाइ छ । विगत ६ महिनादेखि अस्पतालमा यो कार्यक्रम लागू भएको र यसमा बच्चाहरूको उल्लेखनीय सहभागिता हुने गरेको भन्दै स्वर्ण बिन्दु प्राशन प्रयोग गरेका बालबालिकाहरूलाई यसले फाइदा गरेको पनि उनले बताए ।

उनले भने,‘ हामीले आयुर्वेदमा उल्लेख भएका एउटा औषधिबाट गर्ने उपचार र अर्को विना औषधि गरिन उपचार सेवाले नागरिकहरूलाई निको पार्ने काम गरेका छौँ । अहिले अस्पतालले पञ्चकर्मको लागि छुट्टै विभाग स्थापना गरेर सेवा दिँदै आएको छ । यस्तै रोग अनुसारको थेरापिस्ट योगा दिएर पनि बिरामीहरूको सेवा गर्दै आएका छौँ । जसले गर्दा पनि बिरामीहरू सेवा लिन आउने क्रम बढेको छ ।’

अस्पतालमा उपचार गर्न आएका बिरामीहरू भर्ना भएपछि उनीहरूले दैनिक बेड शुल्क २५ रुपैयाँ दिने गरेका छन् । यो शुल्क एकदमै न्यून रहेको पनि अस्पतालले जनाएको छ । यस्तै अस्पतालमा ल्याब सेवा पनि रहेको हुँदा ल्याबमा पनि न्यनतम शुल्क रहेको अस्पतालमा निमित्त निर्देशक डा. ठाकुरको भनाइ छ । उनका अनुसार अस्पतालमा भर्ना भएका बिरामीहरूलाई दैनिक दुई टाइम खाना र नास्ता निःशुल्क दिइन्छ । उनले भने,‘ निजी अस्पतालको कुरा छोडौँ । अन्य सरकारी अस्पतालको भन्दा पनि न्यून शुल्कमा हामीले बिरामीहरूको उपचार गर्दै आएका छौँ । हामीले धेरै नाफा लिने भन्दा पनि बिरामीहरूको राम्रो सेवा प्रदान गर्ने उद्देश्य लिएका छौँ । यस्तै हाम्रो फार्मेसीमा पनि बाहिरभन्दा २० प्रतिशत छुटमा औषधि दिने गरेका छौँ । ’

उनले अस्पताललाई ५० बेडसम्मको बनाउन सकेमा थप सेवा दिएर नागरिकहरूको मन जित्ने पनि दाबी गरे । यस्तै उनले अहिले अस्पताल ३० को भएयता पनि अस्पतालमा १५ बेड हुने बेलाको हुँदा जनशक्ति हुँदा पनि बिरामीहरूलाई राम्रो सेवा प्रदान गर्दै आएको पनि बताए । उनले भने,‘ अब हामीलाई ५० बेड सञ्चालन गर्न मिल्ने भौतिक संरचना र जनशक्ति पनि त्यही अनुसार भएमा हामी यसलाई पुरै प्रदेशमा आयुर्वेदमा उत्कृष्ट संस्था बनाउन सक्छौँ । हामीले धेरै नागरिकहरूलाई सेवा प्रदान गर्न सक्छौँ । त्यसको लागि प्रदेश सरकारले ध्यान दिन जरुरी छ ।’

हिजो आज अस्पतालमा पञ्चकर्म अन्तर्गत विभिन्न सेवा लिन दैनिक ४० जना भन्दा बढि आउने गरेको पञ्चकर्मका इन्चार्ज राजन कुमार चौधरीले बताए । उनका अनुसार दैनिक रुपमा दाङ लगायत विभिन्न जिल्लाहरुबाट बिरामीहरू सेवा लिन आउने गरेका छन । यस्तै थेरापीको लागि पनि दैनिक ८० जना भन्दा बढि बिरामीहरू सेवा लिन आउने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० बैशाख ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस