लुम्बिनी प्रादेशिक अस्पतालमा तीन वटा शल्यक्रिया कक्ष थपियो

दाङ । लुम्बिनी प्रादेशिक अस्पतालको सेवा विस्तारको क्रममा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप गरिएको छ । प्रसूति सेवालाई विस्तार गर्दै शुक्रबारदेखि तीन वटा शल्यक्रिया कक्षा थप गरिएको अस्पतालले जनाएको छ । प्रसूति सेवाका लागि आउने महिलाहरूको संख्या बढ्दै जाँदा गर्भवती महिलाले शल्यक्रियाका लागि पनि पालो पर्खिनुपर्ने बाध्यता थियो ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठका अनुसार वार्षिक ९ हजार महिलाले अस्पतालबाट शल्यक्रिया सेवा लिएका छन् । अस्पतालमा गत आर्थिक वर्ष २०८०÷०८१ मा मात्र ९ हजार ७ सय ६५ जनाले शल्यक्रिया सेवा लिएका थिए । जसमध्ये ४ हजार ५ सय ४७ वटा शल्यक्रिया प्रसूति सेवातर्फको रहेको उनले बताए ।
अस्पतालमा गत आर्थिक वर्षमा १२ हजार ९८ जना मध्ये ७ हजार ५ सय ४८ जनाले सामान्य रूपमा बच्चा जन्माएका थिए । ४ हजार ५ सय ५० जनाले शल्यक्रियामार्फत बच्चा जन्माएको रेकर्ड छ । पछिल्लो आर्थिक वर्षमा अस्पतालबाट ३ लाख ४८ हजार ९ सय ७१ जनाले स्वास्थ्य सेवा लिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले बताए ।