दाङमा एक शिक्षकद्वारा विद्यार्थीमाथि जबरजस्ती करणी

दाङ ।  दाङमा एक शिक्षकले विद्यार्थी माथी जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ ।  शान्तिनगर गाउँपालिका ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको हो । सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लका अनुसार मंगलबार  इप्रकामा जाहेरी परेको हो ।

सबै बसेर परीक्षाको तयारी गरिरहेका बेला त्यही क्रममा शिक्षकले पीडित बालिकालाई काम छ भन्दै बाहिर बोलाएर भवनको भ¥याङमुनी  लिएर जबरजस्ती करणी गरेको पीडितले बयान दिएको प्रहरीको भनाइ छ ।  शिक्षक पौडेलले होस्टेलमा बस्ने विद्यार्थीलाई हेरचाह गर्दै आएका थिए । उनी सोही विद्यालयका प्रावि शिक्षक हुन् । जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको डीएसपी मल्लले बताए ।  पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको मंगलबार  नै स्वास्थ्य परीक्षण गरिएको प्रहरीले बताएको छ ।

यस विषयमा अखिल क्रान्तिकारी दाङ, अनेरास्ववियु दाङले सत्यतथ्य छानविन गर्न माग गरेको छ । अध्यक्ष गिरबहादुर महराले बुधबार एक विज्ञप्ति जारी गर्दै दोषी माथि कारवाहीको  माग गरेका छन् ।  यस्तै अनेरास्ववियु दाङका अध्यक्षले पनि एक विज्ञप्ति निकालेर जबर्जस्त करणी गरेको दुखद घटनालाई प्रशासन तथा शक्ति र सत्ताको आडमा  ढाक छोपमा लाग्न खोज्नुले न्यायप्रेमी युवा विद्यार्थीलाई निकै आक्रोशित बनाएको भन्दै  दोषीलाई कानुनको दायरामा ल्याएर  कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : २०७९ चैत्र २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस