कारागारमा कैदी बलात्कृत

दाङ । तुलसीपुर कारागारका एक कैदी माथि जबरजस्ती करणी भएको छ । गत कात्तिक १७ गते तुलसीपुर स्थित कारागारमा तुलसीपुर उपमहानगरपालिका ६ डुम्रीगाउँका २८ वर्षीय खुमबहादुर चौधरीले ति कैदीमाथि जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पर्वत बहादुर केसीका अनुसार गत कार्तिक १७ गते दिउँसो करिब सवा २ बजेतिर घटना भएको हो । घटना घटेको दिन नै पीडितले इप्रका तुलसीपुरमा कारागार प्रशासनको भवन भित्रको भान्सा घरमा जबरजस्ती करणी गरेको भनी जाहेरी दर्ता गरेको र त्यही अनुसार प्रहरीले घटनाको अनुसन्धान गरेर कात्तिक २८ गते सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा पेश गरेको उनले बताए ।
यो अदालतको प्रक्रियामा रहेको हुँदा यो विचाराधीन रहेको र उनीहरु दुबै तुलसीपुर कारागारमा कैदी भुक्तानी गर्दै आएका ब्यक्तिहरू रहेको पनि बताए । उनले भने,‘ खुमबहादुर यसअघि पनि जबरजस्ती करणमा कैद भुक्तान गर्दै आएका छन् । पीडित भने ठगी मुद्दामा कैद भुक्तानी गर्दै आएकी छन् ।’ उनका अनुसार चौधरीले पहिला पनि जबरजस्ती करणको कैद भुक्तानी गर्दै आएका छन् । अब फेरि कारागार भित्र कैदीलाई जबरजस्ती करण गरेको घटनाले अब फेरि ७ देखि १० वर्षसम्म कैद सजाए हुनसक्छ ।
उनले भने,‘ पीडितको उमेर ३० वर्षको हुँदा ७ देखि १० वर्षसम्म सजाय हुनसक्ने र कैदी भुक्तानी गरिरहेको व्यक्ति भएको हुँदा थप सजाय पनि हुनसक्छ । यस्तै, गत पुस १६ गते आरोपित, पीडित र लगायत साक्षीहरूको बकपत्र भइसकेको पनि उनको भनाइ छ । अहिले पीडित तुलसीपुर कारागारमा रहेको र पीडकलाई घोराही कारागारमा स्थानान्तरण गरिएको पनि उनले बताए । उनका अनुसार पीडित महिला कैदीबन्दीको तर्फबाट कारागारमा चौकीदारको रुपमा थिइन्, भने पीडक पनि पुरुष कैदीबन्दीको तर्फबाट चौकीदार रहेका थिए ।
उनले थपे,‘ दुबै जना चौकीदार हुँदा कारागारभित्र कामकाज गर्नको लागि बाहिरभित्र गर्न सहज हुन्छ । पीडितले भान्सामा पानी तताउन लागेको अवस्थामा पीडक भान्सामा पसेर ढोकाको चुकुल लगाएर मुख थुनेर जबरजस्ती करणी गरेको भन्ने जाहेरीमा उल्लेख छ ।’ आरोपी चौधरीले तुलसीपुरको नयाँ बसपार्कमा बलात्कार गरेको पुष्टि भएपछि दाङ जिल्ला अदालतले २०७२ साल मंसिर ६ गते ६ वर्ष कैद फैसला गरेको थियो ।