अवैध सालको काठसहित ४ जना पक्राउ

दाङ । दाङमा प्रहरीले अवैध काठसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका ९ बस्ने २२ वर्षीय सुल्तान मियाँ, सोही ठाउँका २६ वर्षीय जुद्ध बहादुर बराल, ४४ वर्षीय तिल बहादुर फुन्जा मगर र ३६ वर्षीय टोप बहादुर रोका रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब १२ बजेतिर राप्ती गाउपालिका ९ देवीकोट स्थित भद्राक्षी सामुदायिक वनको ओखले भन्ने स्थानमा अवैध रुपमा काठ कटानी भइरहेको छ भन्ने विषेश सूचनाका आधारमा इप्रका भालुबाङबाट खटिएको प्रहरी टोलीले कटानमा संलग्न ४ जना व्यक्तिसहित साल जातको काठ फेला पारी डिभिजन बन कार्यालय दाङमा बुझाएको छ ।

यस्तै प्रहरीले सालको चिरान ११ थान (२९.७६ क्युफिट) र गोलिया थान २ (७०.८९ क्युफिट) गरी जम्मा १००.६५ क्युफिट काठ बरामद भएको र त्यसको मूल्य करिब एक लाख हुने जनाएको छ । प्रहरीले उनीहरूको साथबाट २ वटा बन्चरो, २ वटा फलामको गल र २ वटा हाते आरा बरामद गरेको थियो ।

प्रकाशित मिति : २०७९ माघ ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस