दाङमा लागूऔषध कारोबारमा संलग्न ४ जना पक्राउ

दाङ ।  दाङमा प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न स्थानबाट पक्राउ परेका ४ जनालाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका १० जगदिशपुर निवासी २५ वर्षीय हिरासिंह क्षेत्री र बाणगङ्गा नगरपालिका ११ निवासी १८ वर्षीय मोहमद खान, घोराही उपमहानगरपालिका १३ निवासी ४० वर्षीया सुशीला गिरी र रोल्पा नगरपालिका ६ कोटगाउँ घर भइ हाल घोराही उपमहानगरपालिका १३ सेवार बस्ने ३८ वर्षीया खुशी पुन मगर भनिने एकता पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिए ।

उनका अनुसार लमही नगरपालिका ९ अमिलियाबाट गिरी र पुनलाई असोज २ गते बेलुका करिब साढे ६ बजेतिर ६ किलो ३६० ग्राम लागू औषध चरेससहित पक्राउ गरिएको हो । दाङको घोराही, तुलसीपुर हुँदै भारतको दिल्ली जान लागेको ना ७ ख ९०५ नम्बरको लागूऔषध चरेस लुकाएर लैजाँदै गरेको भन्ने सूचनाका आधारमा जिप्रका दाङ र इप्रका अमिलियाबाट गएको प्रहरी टोलीले उनीहरूलाई चेक जाँच गर्दा सुशीलाले खुट्टामा ७ वटा पोका पारी राखेको ४ किलो २६५ ग्राम चरेस बरामद गरेको उनको भनाइ छ ।

यस्तै पुनमगरले पनि खुट्टामा लुकाएर राखेको ४ ओटा पोका २ किलो ९५ ग्राम चरेस बरामद गरि दुबै जनालाई पक्राउ गरी लागू औषध चरेस कसुर शीर्षकमा मुद्दामा दर्ता गरी दाङ जिल्ला अदालतबाट अनुसन्धान गर्नको लागि ७ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको उनले जानकारी दिए । यस्तै प्रहरीले सोही दिन बेलुका ५ बजेतिर गढवा गाउँपालिका १ कालाकाटेस्थित पूर्वपश्चिम राजमार्गमा लाग औषध ब्राउन सुगरको कारोबार गरिरहेको अवस्थामा क्षेत्री र खानलाई पक्राउ गरेको हो ।

क्षेत्रीले चलाएको लु ५५ प ६८३७ र खानले चलाएको लु ६८ प १६६६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा खत्रीले गोजीमा लुकाइ राखेको ३३.६३ ग्राम र खानले २ वटा पोका बनाइ पाइन्टको गोजीमा गिलो अवस्थामा लुकाइ राखेको ७९.८४ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका ४ वटा मोबाइल सेट र १८ हजार नगद र दुई वटा मोटरसाइकल सहित पक्राउ गरी लागू औषध ब्राउन सुगर शीर्षकमा मुद्दा दर्ता गरी अदालतबाट ७ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस