दाङमा भरुवा बन्दुक सहित १ जना पक्राउ

दाङ ।   दाङमा प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका १ कटवेरुवा बस्ने करिब ४२ वर्षीय राम बहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

उनलाई शनिबार दिउँसो करिब ४ बजेतिर  गढवा गाउँपालिका ७  को ज्योति सामुदायिक वनबाट  अवैध भरुवा बन्दुक सहित पक्राउ गरिएको हो । भरुवा बन्दुक र  खरखजाना लिएर सिकार खेल्न गएको भन्ने गढवा सब–डिभिजन वन कार्यालय गढवाका वन रक्षकले दिएको सूचना आधारमा इलाका प्रहरी कार्यालय गढवाले उनलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार चौधरीको साथबाट अवैध लोड गरिएको भरुवा बन्दुक थान १ र खरखजाना राखेको कालो रङको झोला, बन्दुकको नालमा २ वटा फलामको छर्रा र १ वटा गोली,  बारुद जस्तो धुलो पदार्थ फेला  बरामद भएको थियो ।

त्यस्तै उनले बोक्ने अर्को झोलामा बन्दुकमा प्रयोग हुने  फलामको गोली १९ थान , फलामका साना ठूला छर्रा १२६ थान, केप ४ थान , बारुद जस्तो देखिने धुलो पदार्थ अन्दाजी २०० ग्राम समेत फेला परेको र उनमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले  जनाएको छ । 

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस