ब्राउन सुगरसहित दुई जना पक्राउ
दाङ । तुलसीपुर प्रहरीले २२० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार बेलुका साढे ८ बजेतिर तुलसीपुरबाट २२० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।
पक्राउ पर्नेमा बाँके कोहलपुर उपमहानगरपालिका ५ घर भइ हाल तुलसीपुर उपमहानगरपालिका ६ कालिका मन्दिर नजिक ससुराली आएका २९ वर्षीय मान बहादुर गन्धर्व रहेका छन् । गन्धर्वलाई सोधपुछ गर्दा लागूऔषध तुलसीपुर ६ बरुवागाउँ निवासी ३० वर्षीय अनिल बिकसँग खरिद गरेको भन्ने बयान दिएपछि विकलाई पनि पक्राउ गरिएको डीएसपी मल्लले बताए ।
गन्धर्वलाई तुलसीपुरको गार्डेन मार्ट नजिकबाट र विकलाई तुलसीपुरको ‘ग’ लाइनबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरु दुवै जनालाई म्याद थप गरि आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

