चोरी गरेका ६ वटा मोटरसाइकलसहित ३ युवा पक्राउ

दाङ ।  दाङमा प्रहरीले चोरी गरेको ६ वटा मोटरसाइकल सहित ३ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा रुन्टीगढी गाउँपालिका ९ घर भइ हाल घोराही उपमहानगरपालिका १४ बस्ने ३० बर्षिया भानुभक्त बाँठा , तुलसीपुर उपमहानगरपालिका १९ घर भइ हाल घोराही उपमहानगरपालिका ११ बस्ने २१ वर्षीय मदन पुन र तुलसीपुर उपमहानगरपालिका १८ बस्ने १८ बर्षिया बादल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार पत्रकार सम्मेलन गरेर चोरीमा संलग्न व्यक्ति र बरामद भएको मोटरसाइकल सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालका अनुसार जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मितिमा परिचय नखुलेका व्यक्तिहरूले मोटरसाइकल चोरी गरेको भन्ने उजुरी आएपछि प्रहरीले मोटरसाइकल र चोरी गर्ने ब्यक्तिहरूलाई खोजतलास गर्न विशेष अप्रेसन टोली गठन गरेको थियो ।

गठन भएको प्रहरी टोलीले खोज तलास गर्दै जादा चोरी भएका मोटरसाइकल र चोरी गर्ने ब्यक्तिहरू पक्राउ परेको प्रवक्ता रिजालले जानकारी दिए । उनका अनुसार उनीहरूले लु ३७ प ८३४३ नम्बरको १२५ सिसिको पल्सर मोटरसाइकल, रा ६ प ४१५४ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल, रा २ प ९३४४ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल, लु ६० प ३४९१ नम्बरको यामाहा कम्पनीको एफजेटएस मोटरसाइकल र रा ६ प ४३०१ नम्बरको वजाज कम्पनीको एनएस २०० सिसिको मोटरसाइकल चोरी गरेका र प्रहरीले बरामद गरिएको हो ।

पक्राउ परेकाहरूमाथि मुलुकी फौजदारी कार्यविधि ( संहिता ) २०७४ को परिच्छेद २० को दफा २४१ को उपदफा १ ले परिभाषित गरेको कसुरमा सोही परिच्छेदको दफा २४२ को उपदफा २ बमोजिम ३ वर्ष सम्म कैद र ३० हजार रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस