गोदावरी जंगलबाट कार लुटेर फरार भएका तीन भारतीय नागरिक पक्राउ

धनगढी ।  कैलालीको गोदावरी जङ्गलमा चालकलाई बाँधेर लुटपाट गरी फरार भएका तीनजना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई कैलालीको गोदावरी– १ स्थित जङ्गलबाट नियन्त्रणमा लिए प्रहरी नायब उपरीक्षक वेदप्रकश जोशीले जानकारी दिए । 

उनका अनुसार पक्राउ पर्नेमा भारतको हरियाणा प्रदेश सोनीपथ बस्ने २१ वर्षीय भगत सिंह, १८ वर्षीय हिल बिदलिसे र २० वर्षीय सन्नी जौट रहेका छन् । उनीहरूले लुटेको कारलाई प्रहरीले गोदावरी– १ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्री सडक खण्डमा फेला परेको थियो ।  

लिफ्ट मागेर सँगै आएको तीनजनाको समूहले कैलालीको गोदावरीको जंगलबार डडेल्धुराका अतिताल गाउँपालिकाका कर्मचारी कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको कार लुटेका थिए । लुटेराले भण्डारीलाई चक्कु प्रहार गरी टाउकोमा ढुङ्गाले कुटपिटसमेत गरेका थिए । उनलाई लुटेराले बाँधेर लुटेराहरू फरार भएका थिए ।

उनीहरूले प्रदेश ०१–२३–च ६०२१ नम्बरको कार लुटेका थिए । कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी आइतबार महेन्द्रनगरबाट डडेल्धुरा जान हिँडेका थिए । तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको थियो । घाइते भण्डारीको अहिले अत्तरियाको पदमा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ असार १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस