जाहेरी लिएर भारतको हरैया थानामा पुगे पीडित पक्ष
दाङ । बलात्कार घटनाका पीडितहरूले भारतीय प्रहरीमा किटानी जाहेरी दर्ता गराउन हरैया थाना पुगेका छन् । दाङ राजपुर गाउँपालिका ६ खांग्रा नाका निवासी २ जना किशोरीलाई बलात्कार र ४ जनालाई कुटपिट गरेको किटानी जाहेरी लिएर पीडित तथा आफन्त भारतको प्रहरी थाना हरैया पुगेका हुन ।
घटनास्थल भारतीय सिमा क्षेत्र भित्र परेकाले मुद्दा पनि भारतीय प्रहरीले चलाउने भएको छ । स्थानीय बासिन्दा, पीडित र खांग्रा प्रहरी चौकीका प्रमुखसहितको टोली हरैया थाना पुगेको वडा अध्यक्ष श्याम रोकाले जानकारी दिए ।
भारतीय प्रहरीले घटनामा संलग्नरहेको आरोपमा चार जनालाई पक्राउ गरिसकेको छ । किशोरीहरूको स्वास्थ्य परिक्षण बलरामपुर जिल्ला अस्पतालमा गरिएको छ ।
आइतबार भारतको मनिपुर बजारमा किनमेलका लागि जाँदै गरेका खांग्रा नाकाका किशोरीलाई पाँच जनाको समुहमा रहेका भारतीय युवाले करणी, लुटपाट र कुटपिट गरेका थिए । पीडितहरूले आफूहरु माथि भएको घटना प्रहरीको सम्पर्कमा आएर बताएपछि बाहिर आएको हो ।

