बलात्कार तथा कुटपिट घटनामा संलग्न रहेको आरोपमा चार भारतीय पक्राउ

दाङ । भारतीय भूमिमा दुई नेपाली महिला माथि बलात्कार गरेको अभियोगमा चार जना भारतीय नागरिक पक्राउ परेका छन । भारतको उत्तर प्रदेशस्थिति बलरामपुर जिल्लाको हरैया थानाले घटनामा संलग्न रहेको अभियोगमा चार जना भारतीय युवालाई पक्राउ गरेको पुष्टि जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले गरेका छन् ।

‘घटना स्थल भारतीय क्षेत्र हो । शंकास्पद चार जनालाई हरैया थानाले नियन्त्रणमा लिएको छ’ उनले भने, ‘यो घटनाको एफआईआर हरैया थानामा दर्ता हुन्छ र त्यहीँबाट कानुनी प्रक्रिया अघि बढ्छ ।’ भारतीय युवाहरूको समूहले राजपुर गाउँपालिका ६ खांग्रा निवासी २ जना महिलालाई बलात्कार गरेको र चार जना माथि कुटपिट गरेको जानकारी आएपछि नेपाल र भारत पक्षका सुरक्षा अधिकारीहरु घटना स्थल पुगेका थिए ।

खांग्रा नाकामा बसोवास गर्ने नेपालीहरु खाद्यान्न किन्नको लागि भारतीय बजार मनिपुर जाने गर्छन । विचमा चार किलोमिटर जंगलको बाटो पर्छ । त्यहीँ जंगलमा भारतीय लुटेराहरुले महिला माथि जबरजस्ती गरेको, कुटपिट र लुटपाट गरेको प्रहरी स्रोतले जनाएको छ

खांग्रा नाका पुग्न राजपुर ५ जंग्रहवाको सडक भएपनि बर्खाका कारण सडक बिग्रेको छ । कोइलावास हँुदै भारतीय भूमि प्रयोग गरेर खांग्रा पुग्नुपर्ने बाध्यता छ । ‘राम्रोसँग फोन लाग्दैन । त्यहाँ पुग्न सजिलो बाटो छैन’ डिएसपी रिजालले भने, ‘खांग्रा प्रहरी चौकीको टोलीलाई परिचालन गरेका छौं ।’

प्रकाशित मिति : २०७९ असार १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस