लागूऔषध खैरो हिरोइन सहित तीन जना पक्राउ

दाङ । दाङमा प्रहरीले १ ग्राम बढि लागूऔषध खैरो हिरोइन सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ काठेकोल निवासी २८ वर्षीय विक्रम चौधरी, घोराही १७ निवासी २५ वर्षीय सुनिल बिक, घोराही १४ निवासी २१ वर्षीय सुशील ऐरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मंगलबार पौने सात बजेतिर घोराही उपमहानगरपालिका १५ जिल्ला अदालत नजिक रहेको पार्वती नास्ता पसलबाट दुई ग्राम लागूऔषध खैरो हिरोइन सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
लागूऔषध कारोबार भैरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिए गएको प्रहरी टोलीले तीनै जनालाई शङ्काको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट १ ग्राम ५१० मिलिग्राम लागूऔषध खैरो हिरोइन र ३ थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनाविरुद्ध लागू औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद १ को ३ (क) ले परिभाषित कसुरमा परिच्छेद २ (४) घ, ङ र च कसुर अपराधमा परिच्छेद ३ को दफा १४ (छ) ( १) मा २५ ग्रामसम्म कारोबार गर्ने ब्यक्तिलाई ५ देखि १० वर्षसम्म कैद रर ५ हजारदेखि २५ हजारसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ ।