बाँकेमा ३५० को क्षमतामा ८१४ लाई कारागार कोचियो

बाँके । बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि थप समस्या सिर्जना भएको छ । ३५० जनाको क्षमता रहेको कारागारमा ८१४ जना कैदीबन्दी राखिएपछि उनीहरुले विभिन्न सरुवा रोगहरुको सामना गर्नु परेको र न्यूनतम सुविधासमेत पाउनबाट बञ्चित बनेका छन् ।

धेरै कैदीबन्दीको चापका कारण नयाँ कारागार भवन निर्माण कार्यमा पनि समस्या देखिएको नेपालगञ्ज कारागारका जेलर राजकुमार सोनकरले बताए । क्षमताभन्दा बढी कैदीबन्दीका कारण लुतो लगायतका सरुवा रोगको समस्या र शौचालयको समस्या हुने गरेको उनको भनाई छ ।

कैदीबन्दीलाई व्यवस्थित रुपमा राख्ने उद्देश्यले सरकारले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ नौबस्तामा ३ हजार क्षमताको अत्याधुनिक क्षेत्रीय कारागार भवन निर्माण शुरु गरेको ५ वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा थप समस्या बढेको उनले बताए ।

यसैबिच कारागार व्यवस्थापन विभागको पछिल्लो तथ्यांकअनुसार देशभरका कारगारको क्षमता करिब १६ हजार रहेको छ । तर नयाँ कारागार भवन निर्माण नहुँदा क्षमताभन्दा झन्डै दोब्बर बढी कैदीबन्दी राखिएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस