सासुको हत्या आरोपमा छिमेकीसहित बुहारी पक्राउ

घोराही । दाङमा प्रहरीले सासुको हत्या गरेको आरोपमा बुहारीसहित छिमेकीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका खानीगाउँकी २३ वर्षीया बसन्ती घर्ती र सोही ठाउँकी २२ वर्षीया दुर्गा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेकी बसन्ती मृतक घर्तीकी बुहारी हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार बुधबार बिहान इन्द्रकुमारी घरनजिकै छिमेकीको घरमा न्वारनमा गएको तर, रातिसम्म पनि घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्दै जाँदा हिजो घरनजिकै रहेको खोल्सामा मृत फेला पारेका थिए ।

बसन्तीले टाउकोमा काठको मुंग्रोले हिर्काएर अचेत भएपश्चात छिमेकी दुर्गाको सहयोगमा दुवै जना मिली घरनजिकैको बारीको ढिकबाट खोल्सोमा खसाली हत्या गरेको भनी उनीहरूको प्रारम्भिक बयानबाट खुल्न आएको प्रवक्ता रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट निरीक्षक झबिन्द्र परियारसहितको टोलीले उनीहरू दुवै जनालाई पक्राउ गरेको हो । घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस