दाङमा ७ किलो भन्दाबढि लागूऔषध चरेससहित २ जना पक्राउ
दाङ । दाङमा प्रहरीले करिब ८ किलो लागू औषध चरेससहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ बसपार्क बस्ने रुकुमको भुमे गाउँपालिका ९ चुनबाङ घर भएका ५० वर्षीय दल बहादुर कामी र भुमे गाउँपालिका ९ घर भई हाल घोराही १८ गिठेपानी बस्ने ५९ वर्षीय कर्ण बहादुर पुन रहेको जिल्ला प्रहरी दाङले जनाएको छ ।
कामीले आफ्नो डेरा कोठामा लागू औषध ( चरेस ) लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिप्रका दाङबाट गएको प्रहरी टोलीले ७ किलो ७७९ ग्राम चरेस सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
उनका अनुसार कामीले कोठामा प्लाष्टिकको बोरा भित्र लुकाएर राखेको अवस्थामा १६ पिस चरेस बरामद गरेको हो । त्यस्तै प्रहरीले उनलाई पक्राउ गरी प्रारम्भिक सोधपुछ तथा फोन कल विश्लेषणका आधारमा उक्त लागू औषध ( चरेस ) कारोबारमा संलग्न रहेका पुनलाई पनि पक्राउ गरेको हो । पक्राउ परेका दुबै जना माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लागु औषध नियन्त्रण एन २०३३ अनुसार २ केजि देखि १० केजि सम्मको करीमाण भए १ बर्ष देखि ३ बर्ष सम्म कैद र ५ हजार रुपैया देखि २५ हजार रुपैया सम्म जरीवाना हुने प्रहरीले बताएको छ ।