चोरी गर्ने दुई जना पक्राउ
तुलसीपुर । तुलसीपुरको विभिन्न स्थानमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । मंगलबार विभिन्न स्थानमा चोरी गर्ने तुलसीपुर उपमहानगरपालिका ५ घरभई हाल वडा नं. ६ रजौरामा डेरा गरी बस्ने २० वर्षीय दिलिप परियार र घोराही उपमहानगरपालिका १० नारायणपुर घर भई हाल तुलसीपुर ६ रजौरामा डेरा गरी बस्ने १९ वर्षीय विशाल परियारलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
तुलसीपुरको विभिन्न स्थानमा चोरी गरी लुकीछिपी बसिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो । उनीहरुको साथबाट माछा जस्तो आकार भएको दाप सहितको खुकुरी थान एक, राप्ती खुकुरी उद्योगको स्टयाम्प छाप थान एक, बच्चाले हातमा लगाउने चाँदीको जस्तो देख्ने बाला थान एक, चाँदीको जस्तो देखिने सिक्री थान एक, फलामको हतियार नोख थान एक, फलामको ३ फिट ३ ईन्च लामो छट (सरिया) थान एक प्रहरीले बरामद गरेको छ ।
त्यस्तैगरी रा १ प ५४७३ नम्बरको मोटरसाइकलको सवारी दर्ता किताब थान एक, ११९६२१५० नम्बरको ममता डिसी (दाङ) को राहदानी थान एक, ०६६२७९०३ नम्बरको चोकमणी गिरी (दाङ) को राहदानी थान एक, कानमा लगाउने पहेलो रङ्गको गहना दुई जोडी, पहेलो रङ्गको मंगलसुत्र थान एक, पहेलो रङ्गको चुरा थान दुई र मोबाइल दुई थान बरामद गरेको छ ।
साथै उनीहरुलाई पक्राउ गरी थप अनसन्धान भैरहेको प्रहरीले बताएको छ ।