बाघको छालासहित ४ जना पक्राउ

घोराही । दाङमा बाघको छालासहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ झरना टोल घर भइ हाल लमही नगरपालिका ३ टिकुलीगढमा डेरा लिइ बस्ने ४५ बर्षिय शंकर गिरी, उनकी श्रीमती ४२ बर्षिया झरना थापा, लमही नगरपालिका १ नर्तीका ६३ बर्षिय गिरबहादुर बिश्वकर्मा र लमही नगरपालिका २ बरुवा गाउँका २८ बर्षिया आशा कुमार चौधरी रहेका छन् ।
गोप्य सूचनाको आधारमा उनीहरुलाई विशेष ब्युरो, जिल्ला प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।
लमही नगरपालिका ३ टिकुलीगढस्थित लालबहादुर परियारको घरबाट गयराती उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । बाघको छालासहित पक्राउ परेका चारै जनालाई प्रक्रिया पूरा गरेर आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय देउखुरी दाङलाई बुझाईने प्रहरी निरीक्षक पौडेलले बताए ।