बायोपिक चलचित्र बनाउँदै अभिनेता रमित

दाङ । पछिल्लो पटक ‘बुद्ध वर्न इन नेपाल’ चलचित्र निर्माण गरेका लोकप्रिय अभिनेता रमित ढुंगाना फेरी सामाजिक विषयवस्तुमै आधारित चलचित्र निर्माण गर्न तम्सिएका छन् । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले मंगलबार ढुंगानासँग आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमबाट उनले नयाँ चलचित्रको घोषणा गरेका हुन् । अभिनेता ढुंगानाले अब एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनीमा आधारित बायोपिक चलचित्र बनाउने भएका छन् । अहिले प्रि–प्रोडक्सनमा रहेको चलचित्र यही पौष महिनाको अन्तिम हप्ताबाट फ्लोरमा निस्कने गरि काम तीव्र गतिमा भइरहेको अभिनेता ढुंगानाले बताए ।
चलचित्र पत्रकार संघ नेपाल, दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा बाल्दै अभिनेता रमितले ‘बुद्ध वर्न इन नेपाल’ले दर्शक र समिक्षकबाट राम्रो प्रतिक्रिया पाएपछि आफू बायोपिक चलचित्र बनाउने निर्णयमा पुगेको बताए । मुस्कान खातुनमा आधारित चलचित्रको नाम भने केही दिनमा घोषणा गरिने ढुंगानाले बताए ।
बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश दिनका लागि चलचित्र निर्माण गरेको र सफल पनि भएको उनको भनाई छ । बुद्धको जन्मस्थानबारे विभिन्न भ्रामक कुराहरु आइरहेको समयमा आफुहरुले बुद्ध नेपालमै जन्मेको सन्देश दिन चलचित्र निर्माण गरेको र आफू त्यसमा सफल भएको दाबी गर्दै अब खातुनको जीवनीमा आधारित बायोपिक चलचित्रले पनि दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको नायक ढुंगानाले बताए । उनले ‘बुद्ध वर्न इन नेपाल’लाई स्थानीय तहसँगको समन्वयमा प्रत्येक विद्यालयमा प्रदर्शन गर्न लागेको बताए ।
साथै अर्काे प्रसङ्गमा ढुंगानाले कोरोनाले थलिएको विश्व सिनेमा बजार क्रमश चलाएमान हुँदै जाने तर मेकरले चलचित्र भने स्तरीय बनाउनुपर्ने बताए । चलचित्र पत्रकार संघ दाङका सल्लाकार शरद रेग्मीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सदस्य भुपेश वलीले गरेका थिए ।