व्यवसायीक फुल खेतीतर्फ युवाहरूको आकर्षण बढ्दै

दाङ ।  जिल्लामा पछिल्लो समय व्यवसायीक फुल खेतीतर्फ युवाहरूको आकर्षण बढ्दै गएको छ । घोराही उपमहानगरपालिका केही वडाहरुमा केही युवाहरू व्यवसायीक फूलखेती गर्दै आइरहेका छन्, भने, तुलसीपुर उपमहानगरपालिका ८ दुधेनामा तुलसीपुरका ५ जना युवाहरूले पहिलो पटक फूलखेती गरेका छन् ।

७ कठ्ठा जमिन मासिक ५ हजार भाडा तिरेर सयपत्री फूलखेती गरेको आहा अभियानका संयोजक दीपक काफ्लेले बताए । उनले पछिल्लो समय बजारमा प्लाष्टिकका फूलहरू पाइने र तिहार लगायत अन्य कुनै कार्यक्रममा जिल्लामा फुल नहुँदा समस्या हुने भएकाले परीक्षणको लागि आफूहरूले पहिलो पटक ७ कठ्ठामा खेती गरेको बताए । अहिले सम्म करिब एक लाख खर्च भएको भन्दै उनले तिहार ढिला हुँदा केही फूलहरू अगाडि नै फुल्दा खेरा गएको बताए । त्यस्तै उनले तुलसीपुरमा कोल्ड स्टोर नहुँदा पनि फुल व्यवसाय गर्नेहरूलाई समस्या हुने गरेको अनुभव सुनाए ।

‘गाउँ ठाउँ मै केही गरौँ भनेर हामी युवाहरू लागेका छौँ,’ उनले भने,‘ तर, यहाँ धेरैको समस्या भोग्नु परेको छ । तिहारको लागि भनेर रोपेको फुल अगाडि फुल्दा ति फुल खेरा गए । यदि तुलसीपुरमा कोल्ड स्टोर भएको भएपनि राख्न सकिन्थ्यो । थोरै फूलहरू फुल्दा बाहिर पनि पठाउँन नमिल्ने जसले गर्दा समस्या भयो ।’ यसैगरी उनले आफूहरूले अहिले ७ कठ्ठा परीक्षणको कलकत्ते सयपत्री (हजारी) फुल लगाएको भन्दै अब अर्को पटक ठुलो क्षेत्रफलमा लगाउने योजना रहेको समेत बताए । यस पटक तिहारमा करिब १ हजार माला बिक्री गर्ने लक्ष्य रहेको र प्रति माला २ सय रुपैयाँ तोकेको समेत उनको भनाइ थियो ।

उता घोराहीमा लामो समयदेखि व्यवसायीक रुपमा फूलखेती गर्दै आएका लोकेन्द्र मगरले पनि यस पटक १८ कठ्ठा जमिनमा कलकत्ते सयपत्री ( हजारी ) फुलको खेती गरेको बताए । उनले घोराही उपमहानगरपालिका १४ मा लामो समयदेखि व्यवसायीक रुपमा फूलखेती गर्दै आएका छन् । गतवर्ष फुलमा रोक लाग्दा करिब ३ हजार माला बिक्री गर्दा करिब ३ लाख आम्दानी भएकोमा यस पटक करिब ८ हजार माला बिक्री गर्ने लक्ष्य रहेको बताए । गतवर्षको भन्दा यसपटक फुल राम्रो फुलेको समेत उनले बताए ।

त्यस्तै उनले गतवर्ष कम उत्पादन हुँदा जिल्लामा माग अनुसार पु¥याउन नसकेको भन्दै यस पटक भने पुग्ने बताए । उनले एउटा मालाको मूल्य माला अनुसार एक सयदेखि १५० सम्म रहेको समेत बताए । त्यस्तै उनले यही कार्तिक १५ गतेदेखि माला बनाउने तयारी रहेको समेत बताए । तयार बनाएको मालाहरू राम्रोसँग राखेमा एक हप्ता सम्म केही पनि नहुने उनको भनाइ छ ।

त्यस्तै उनले विगतका वर्षहरूमा जिल्ला बाहिर फूलहरू पठाउँदै आएको भएयता पनि यस पटक बाहिर नपठाउँने र जिल्लामा खपत गराउने लक्ष्य अनुसार घोराही , तुलसीपुरमा लगेर बिक्री गर्ने योजना रहेको समेत बताए । त्यस्तै उनले आफूहरूले तिहारलाई नै मध्य नजर गरी फूलहरू उत्पादन गर्दै आइरहेको भएयता पनि अन्य समयमा फूलहरू उत्पादन गर्दा चिस्यान केन्द्र नहुँदा समस्या हुने गरेको बताए ।

‘अहिले उत्पादन भएको फुल हामीले तिहारलाई मध्यनजर गरी तयार गरेका हुन्छौँ ,’ उनले भने,‘ तर, अन्य समयमा सयपत्री फूलहरू जिल्लामा पाइदैन् । कुनै पनि ठुला कार्यक्रम भए । जिल्ला बाहिरबाट मंहगोमा ल्याउनु पर्दछ । तर, हामीले यही उत्पादन गरौँ भने, पनि खासै बिक्री हुँदैन् । की राख्नको लागि चिस्यान केन्द्र हुनु पर्दछ । त्यो नहुँदा पनि जिल्लामा सबैले तिहारको लागि मात्र खेती गर्दै आएका छन् ।’

प्रकाशित मिति : २०७८ कार्तिक १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस