दाङमा जबरजस्ती करणी मुद्दामा फरार एक व्यक्ति १८ वर्षपछि पक्राउ

दाङ  ।  दाङमा प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जनालाई १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १० नारायणपुर निवासी ३४ वर्षीय धन बहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनलाई २०६० साल कार्तिक २ गते दाङ देउखुरी जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा ७ वर्ष ११ महिना ८ दिन कैद सजाय फैसला गरेको भएयता पनि उनी फरार रहेका थिए । उनलाई खोजतलास गर्दै जादा मंगलबार बिहान करिब साढे १ बजेतिर घोराही १० मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनलाई बिहीबार दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । यसैगरी प्रहरीले लेनदेन मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ की ३७ वर्षीया मेनुका कार्की रहेको जिप्रका दाङले जनाएको छ ।

उनलाई असोज ३० गते घोराही १४ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रवक्ता रिजालले जानकारी दिए । उनलाई दाङ देउखुरी जिल्ला अदालतले २०७३ असार २३ गते लेनदेन मुद्दामा १ वर्ष कैद सजाय फैसला गरेको थियो ।

प्रकाशित मिति : २०७८ कार्तिक ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस