दाङमा अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

दाङ । दाङमा प्रहरीले अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको रुन्टीगढी गाउँपालिका ९ घर भइ हाल घोराही उपमहानगरपालिका १३ बडहरा बस्ने २५ वर्षीय इन्द्र कमल बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई प्रहरीले शनिवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार बुढामगरले साथमा अवैध हातहतियार बोकी सर्वसाधारणहरूलाई त्रसित पार्ने कार्य गर्दै आइरहेको र उक्त हतियार आफ्नै घरमा लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले शुक्रबार बिहान करिब साढे २ बजेतिर उनलाई पेस्तोल सहित पक्राउ गरेको हो । उनले रा ५ प ८७६२ नम्बरको स्कुटी मुनि लुकाई छिपाई राखेको अवस्थामा एक राउन्ड गोली म्यागजिनमा लोडेड रहेको अवस्थामा कालो रङको अटोमेटिक पेस्तोल १ थान फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
उनलाई पक्राउ गरी बरामद हातहतियार खरखजाना ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । २०७० बैशाख २५ गते बुढामगरले साने घर्तीलाई ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाएका थिए । उक्त घटनामा उनलाई ज्यान मार्ने उद्योग कसुरमा २ बर्ष ६ महिना कैद सजाय भएको र उक्त कैद सजाय उनले भुक्तान गरिसकेको समेत प्रवक्ता रिजालले जानकारी दिए ।