बाँकेमा ४ किलो बढि सुनसहित २ जना पक्राउ
दाङ । बाँकेमा प्रहरीले ४ किलो बढि सुन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको तत्कालीन खुदुनाबारीका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङका २८ वर्षीय बुद्धिमान खाती रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरूलाई शुक्रबार दिउँसो करिब ३ बजेतिर नेपालगञ्जमा रहेको राझा एयरपोर्टबाट ३ किलो ९९४ ग्राम काँचो सुन र २७.४९ ग्रामका विभिन्न गहना गरि ४ किलो २१.४९ ग्राम सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार काठमाण्डौबाट नेपालगञ्ज आएको श्री एयर लायन्सको जहाजमा उनीहरु दिउँसो करिब २ बजेतिर नेपालगञ्ज आएका थिए । करिब ३ बजेतिर उनीहरु विमानस्थलको आगमन कक्ष बाहिर पट्टी शंकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले फेला पारी सोधपुछ तथा चेकजाँच गर्दा विश्वकर्माले लगाएको दाया– बायाँ जुत्ताबाट २–२ पिस सुनको बिस्कुट र खातीले लगाएको दाया – बायाँ जुत्ताको तलुवामा १–१ पिस सुन बिस्कुट फेला परेको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।
त्यस्तै खातीले बोकेको झोला चेकजाँच गर्दा सो झोला भित्र तिलहरी १ थान , वाला १ थान, गणेश लकेट ५ थान बरामद गरेको समेत उनले जानकारी दिए । साथै घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।