दाङमा अधिकांश खेतियोग्य जमिन मासेर प्लटिङ गरिदै
दाङमा खेतीयोग्य जमिनलाई उपमहानगरपालिको मापदण्ड विपरित खण्डीकरण गरी घडेरी र घर धमाधम बनाइँदै आएको छ । जग्गा धनी र जग्गाको कारोबार गर्ने दलालहरुले ६०–४० को भागबन्डा गरी खेतीयोग्य जमिनलाई धमाधम प्लटिङ गरेर महंगोमा बेचबिखन गरिरहेका छन् । घोराही उपमहानगरपालिका वडा नम्वर १६ रतनपुरमा केही वर्षअघिसम्म कुनै पनि घर थिएनन् । सबै जग्गामा खेती गरिँदै आएको थियो । पछिल्लो समय जग्गा धनी र जग्गा दलालीहरुको मिलेमतोमा यहाँको जग्गालाई खण्डीकरण गरी घडेरीका रुपमा महंगोमा बेचबिखन गरियो । अहिले बाक्लो बस्ती नै बसेको छ ।
त्यस्तै घोराही उपमहानरपालिका वडा नम्वर १३ डुम्मर गाउँ आसपासमा पनि खेती गरिरहेको जग्गालाई मासेर घडेरी बनाइएपछि अहिले यहाँ पनि बाक्लो बस्ती बसेको छ । जग्गा दलालीहरु, जग्गा धनीसँग मिलेर ६०–४० को भागबन्डा लगाएर मिलेमतोमा काम गर्दै, कमिसन खादै आइरहेका छन् । दाङका ठुला बजार, घोराही, तुलसीपुर, लमही, नारायणपुर, लगायतका आसपासका अधिकांश ठाउँमा जग्गा दलालहरुले सके आफुले सस्तोमा जग्गा किनेर खण्डीकरण गर्ने, नभए जग्गा धनीसँग मिलेर खण्डीकरण गरी महंगोमा घडेरीका रुपमा बेचबिखन गर्दै कमिसन खादै आइरहेका छन् । घोराही उपमहानरपालिकाले आफ्नो मापदण्ड अनुसार घडेरी, बाटो, नाला, नभएको जनाएको छ । गत वर्ष घोराही उपमहानगरपालिका र बंगालचुली गाउँपालिकामा मात्रै झन्डै ४५ सय कित्ताकाट भएको नापी कार्यालय घोराहीले जनाएको छ । नापी कार्यालय लमही र तुलसीपुरबाट पनि उत्तिकै मात्रामा कित्ताकाट भएका छन् ।
नियमामा एउटा जग्गाको वर्षमा एक पटक मात्र कित्ताकाट गर्न मिल्ने भएपनि जग्गा दलाली, नापी र मालपोत कार्यालयका कार्मचारीसँगको मिलेमतोमा एउटै जग्गाको पटक÷पटक कित्ताकाट हुँदै आएका छन् । जग्गा खण्डीकरण गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्ने घोराही उपमहानरपालिकाले जनाएको छ । जग्गालाई व्यवस्थित गर्नको लागि आगामी दिनमा कानुन बनाएर अगाडि बढ्ने उपमहानरपालिकाको भनाई छ । तराईको खाद्यन्न उत्पादन हुने जमिनलाई खण्डीकरण गरी मास्ने काम भइरहेको छ । यसले भविष्यमा खाद्यन्न बाली उत्पादन कम भइ खाद्य संकट नआउला भन्न सकिन्न ।