दाङमा पेस्तोलसहित २ भारतीय नागरिक पक्राउ

दाङ । दाङमा प्रहरीले स्वचालित पेस्तोलसहित २ जना भारतीय नागरिक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्लाको नगरपञ्चायत बढनी वडा नं. ३ बस्ने २२ वर्षीय कर मुल्लाह आमिर र सोही ठाउँका वडा नं. ८ बस्ने १९ वर्षीय राजा खान रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोमबार साँझ करिब ५ बजे दाङको गढवा गाँउपालिका १ जुरौलीस्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय दाङ र अस्थाई प्रहरी पोष्ट कालाकाटेको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

शंकास्पद रुपमा पैदल हिँडिरहेका उनीहरूलाई खानतलासी गर्ने क्रममा करमुल्लाहले दाहिने कम्मरमा लुकाई राखेको सिल्वर कलरको स्वचालित पेस्तोल एक थान, म्यागजिन २ थान, २ वटा गोली बरामद भएको उनले जानकारी दिए । त्यस्तै, उनीहरूको साथबाट ३ वटा विभिन्न कम्पनीका मोबाइल सेटहरु पनि बरामद भएको र उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस