रुकुम पश्चिम १७ लाख राजस्व संकलन

रुकुम । रुकुम पश्चिमको जिल्ला ट्राफिक प्रहरी कार्यालयले १७ लाख बढि राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७७÷७८ को अवधिमा ट्राफिक नियम उल्लंघन गरेका सवारी साधनबाट १७ लाख ९ हजार ५ सय राजस्व संकलन गरेको हो ।

ट्राफिक कार्यालयका प्रमुख नबराज भट्टका अनुसार गत आर्थिक वर्षमा एकहजार ७ सय १६ वटा साना तथा ठूला सवारीसाधन कारबाहीमा परेका छन् । कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढि राजस्व संकलन मोटरसाईकलबाट भएको छ । एक हजार ६९ मोटरसाईकलबाट १० लाख ६२ हजार ५ सय राजस्व संकलन भएको छ ।

ट्राफिक प्रहरीले गत आर्थिक वर्षको अवधिमा पुस महिनामा मात्रै ३ सय २३ वटा सवारी साधन कारबाहीमा परेको बताएको छ । यो नै गत आर्थिक वर्षको एकै महिनामा सबैभन्दा बढि कारबाही संख्या भएको बताईएको छ ।

त्यस्तै गत आर्थिक वर्षमा जिल्लाभर ३४ वटा सवारी दुर्घटना भएका छन् । जसमध्ये १० जनाको मृत्यु र ४६ जना घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस