दाङमा बाघको छालासहित २ जनालाई पक्राउ

दाङ । दाङमा प्रहरीले प्रतिबन्धित बन्यजन्तु बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका ९ बस्ने ३२ वर्षीय रामबहादुर दमाइ र रुकुम पश्चिम मुसिकोट नगरपालिका १० चौखाबाङ बस्ने ५४ वर्षीय पूर्ण सिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बुधबार बिहान करिब साढे ३ बजेतिर दाङ घोराही उपमहानगरपालिका ३ गोग्लीमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनीहरु शंकास्पद अवस्थामा हिँडिरहेको फेला पारी नियमित चेकिङमा खटिएको प्रहरी टोलीले रोकी चेकजाँच गर्दा सिमेन्टको बोराभित्र टाटेपाटे बाघको छाला फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पुच्छरदेखि टाउकोसम्म ५ फिट २ इन्च लम्बाइ र छातिको भागको चौडाइ १ फिट ४ इन्च भएको नङ्ग्रा र जुँगा सहितको छाला फेला परेको प्रहरी जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस