घरभित्रै बस्न विज्ञको सुझाव
नेपाली आकाशमा वायु प्रदुषणको मात्रा अत्याधिक बढेपछि सरकारले सचेत रहन आग्रह गरेको छ । गर्मी लागेसँगै वनमा लागेको डढेलो लगायतका कारण वायु प्रदुषणको अवस्था खतराको स्थितीमा पुगेपछि स्वास्थ्यमा विशेष सावधानी अपनाउन आग्रह गरिएको हो । विशेष गरी बालबालिका, जेष्ठ नागरिक तथा दिर्घ रोगीहरु यसबाट प्रभावित हुने भन्दै सचेतना अपनाउन भनिएको छ । नेपालमा प्रदूषण मापन गर्ने केन्द्र राखिएका अधिकांश ठाउँमा अवस्था ‘गम्भीर’ रहेको छ । ती केन्द्रले देखाएका विवरण अनुसार दाङ, बुटवलसहित देशको राजधानी काठमाण्डू उपत्यका, पोखरा, जुम्ला, धनकुटाजस्ता देशका अन्य भागमा पनि वायु कतै ‘अस्वस्थ’ त कतै ‘गम्भीर’ देखाएको छ ।
कसरी भयो वायु प्रदुषण ?
यस पटक हिउँदमा वर्षा नहुनु र वायुमण्डलमा धुवाँ तथा धूलोको मात्रा बढी भएकोले प्रदुषण बढेको वातावरण विभागले जनाएको छ । यसैगरी छिमेकी मुलुक भारत तथा चीनमा रहेका औद्योगिक क्षेत्रहरुबाट उत्पादित कार्वनडाइअक्साइडका कारण नेपालले पनि वायु प्रदुषणको सामना गर्नु परेको विज्ञहरु बताउछन् । नेपालमा रहेका उद्योग कलकारखानाहरुबाट उत्पादन हुने प्रदुषण उनीहरुको तुलनामा नगन्य मात्रामा छ । पछिल्लो समय देशका विभिन्न स्थानमा एकसाथ लागेको डढेलोका कारण वायु प्रदुषण एक्कासी बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले बताए । यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको उनले बताए । उनका अनुसार मौसमले साथ नदिएको अवस्थामा डढेलोबाट हुने वायु प्रदुषणको अवस्था अझ बढ्ने देखिन्छ ।
‘विगतमा समेत हिउँदका बेला भारतका दिल्ली–हरियाणा र आसपासका क्षेत्रमा अन्नबालीका खोस्टा जलाउँदा हुने प्रदूषणको असर नेपालसम्मै देखिने गरेतापनि विगतमा त्यो एक(दुई दिनजति मात्र रहने गरेको पाइन्थ्यो । जँगलमा पात झर्ने तथा थप गर्मी मौसम आउन बाँकी रहेकाले अवस्था थप गम्भीर हुने देखिएको छ । डढेलो विज्ञ शर्माका अनुसार विगत वर्षमा डढेलोको प्रवृत्ति हेर्दा बैखा जेठमा बढी हुने गरेकाले अवस्था थप गम्भीरह हुन सक्ने छ ।
मानवीय स्वास्थ्यका लागि कति घातक ?
कोभिड १९ सँग जुधिरहेका बेला एक्कासी बढेको वायु प्रदुषणले मानीय स्वास्थ्यमा थप चुनौती देखा परेको छ । प्रदुषित वायुका कारण आँखा तथा छालाको एलर्जी, फोक्सो तथा स्वासप्रस्वासमा समस्या देखा पर्न सक्छन् । यो समय मौसमी फ्लू (मौसमी रोग) लाग्ने सक्ने सम्भावना बढी हुने भएकाले त्यसलाई वायु प्रदुषणले थप सहयोग पुग्ने उनले बताए । बालबालिका, जेष्ठ नागरिक, दम तथा स्वासप्रस्वास सम्बन्धि रोग भएका व्यक्तिलाई यसले बढी असर पार्ने उनले बताए । यसैगरी दिर्घकालिन रुपमा मुटु सम्बन्धि रोग, क्यान्सरलगायतका रोगहरु देखिन सक्ने खतरा रहेको छ । वायुमण्डलमा फैलिएका विभिन्न रासायनिक तत्वहरुले तत्कालिन रुपमा सास फेर्न गाह्रो हुने, आँखा पिरो हुने, चिलाउने लगायतका रोगहरु मात्रै देखा परे पनि दिर्घकालिन रुपमा असर पार्न सक्ने उनले बताए ।
असरबाट बच्न के गर्ने ?
अहिलेको वायु प्रदुषणबाट बच्ने सबैभन्दा सजिलो उपाय सकेसम्म घरबाट बाहिर ननिस्कनु नै हो । विशेष गरी मनिङवार्क (विहान हिड्ने) वानी तत्काललाई त्याग्नु पर्ने उनको सुझाव छ । उक्त समय वायुमा रासायनिक तत्वहरु बढी हुने भएकाले स्वास्थ्यमा असर पार्ने सम्भावना बढी हुन्छ । यसैगरी घर बाहिर निस्कनुपर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, घर भित्र बस्दा वाहिरी हावा सकेसम्म कम आउने गरी भेन्टिलेशनको प्रयोग गर्ने । यस अर्थमा सास अक्सिजन आउनै नसक्नेगरी बन्द कोठामा बस्नु भने हुँदैन । यसैगरी घरभित्रै बसेर शारीरिक व्यायम गर्ने । अहिलेको वायु प्रदुषणबाट बच्नका लागि पूर्ण रुपमा उपाय नभए पनि खानपानलाई समेत ध्यान दिनुपर्ने सुझाव छ । अत्याधिक रुपमा पानी पिउने, सकेसम्म झोलिलो पदार्थ तथा प्रोटिनयूक्त खाना खानु पर्छ ।