आइतबारदेखि वर्षा र हिमपात हुने सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह
काठमाडौँ । पश्चिमी वायुको प्रभाव बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ। केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्ने भएकाले काट्न बाँकी धानबाली सुरक्षित गर्न मौसमविद्ले सुझाव दिएका छन्।
नेपाल मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भए पनि आइतबारदेखि भने पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आउनेछ।
आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपात हुनसक्ने अनुमान छ। यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुने र वागमती तथा कोशी प्रदेशका पहाडी भूभागमा पनि छिटपुट वर्षा हुनसक्ने छ । विशेषगरी खेतमा रहेको धानबाली र काटेर सुकाउन राखिएको परालमा वर्षा तथा असिनाले क्षति पुर्याउन सक्ने भएकाले मौसम हेरेर बाली भित्र्याउनुपर्ने पनि आग्रह छ ।
भारी वर्षाको सम्भावना नरहेको र अधिकांश स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने अनुमान छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमसम्म हिमपात हुनसक्छ। पश्चिमी न्यूनचापीय प्रणाली छिटो गतिमा एक स्थानबाट अर्को स्थानतर्फ सर्ने भएकाले केही समय वर्षा गराएर पार हुने प्रकृतिको हुन्छ।
