विद्यार्थीलाई अभिमुखिकरण

दाङ । गुरुकुल एकेडेमी घोराही ले कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकायमा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नयाँ शैक्षिक सत्रसँगै विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक वातावरण, नियम तथा अनुशासन, अध्ययन पद्धति र भावी योजना सम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । होटल सुपरलज घोराहीको सभाहलमा सम्पन्न कार्यक्रम विद्यालयका प्रधानाध्यापक प्रदीप राजभण्डारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजिकरण प्लस टु संयोजक राजन अधिकारीले गरेका थिए ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुनुभएका डा. मधुसुदन पाण्डेले विद्यार्थीहरूलाई अनुशासन, मेहनत र सकारात्मक सोचका साथ अध्ययनमा अगाडि बढ्न सुझाव दिए । उनले उच्च शिक्षाको यात्रामा विद्यालयको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विद्यार्थीहरूलाई लक्ष्यसहित अध्ययन गर्न आग्रह गरे । त्यसैगरी गुरुकुल एकेडेमी लमही का शैक्षिक निर्देशक विवेक देवकोटाले गुणस्तरीय शिक्षा, समय व्यवस्थापन तथा प्रतिस्पर्धात्मक क्षमताको विकासमा ध्यान दिनुपर्ने बताए ।

उनले गुरुकुल शिक्षण पद्धतिले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । विद्यालय संयोजक भुवन आचार्यले नयाँ विद्यार्थीहरूलाई विद्यालय परिवारमा स्वागत गर्दै अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय हुन प्रेरित गरे । कार्यक्रममा विद्यालयका निवर्तमान प्रधानाध्यापक डा. कृष्णराज डिसीले स्वागत मन्तव्य राख्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे ।

कार्यक्रममा प्लस टु संयोजक राजन अधिकारीले विद्यालयका नियम, अनुशासन, पठनपाठन प्रणाली तथा विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिताबारे जानकारी गराए । त्यसैगरी प्रधानाध्यापक प्रदीप राजभण्डारीले अभिमुखिकरण प्रस्तुति मार्फत विद्यालयको शैक्षिक योजना, उपलब्धि, उद्देश्य तथा आगामी कार्यक्रमबारे विस्तृत जानकारी दिए । कार्यक्रममा सहभागी नयाँ विद्यार्थीहरूलाई खादा तथा टीका लगाएर स्वागत गरिएको थियो । विद्यालय परिवारको आत्मीय स्वागतले विद्यार्थीहरू उत्साहित देखिएका थिए । कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यालयका विभिन्न तहका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ जेष्ठ २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस