विपद्मा गुरुकुल एकेडेमीको साथ : प्रधानमन्त्री राहत कोषमा ५१ हजार १५१ रुपैयाँ सहयोग
घोराही। गुरुकुल एकेडेमीले रसुवाल गायत विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा ५१ हजार १५१ रुपैयाँ सहयोग गरेको छ। गुरुकुल एकेडेमीका घोराही, तुलसीपुर र लमही शाखाले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। विपद्का कारण प्रभावित नागरिकको पीडामा साथ दिँदै तत्काल राहत तथा आगामी पुनर्निर्माणका कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थागत रूपमा सहयोग गरिएको एकेडेमीले जनाएको छ।
शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने प्रयाससँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको गुरुकुलले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको जनाएको छ। मानवीय संवेदना र सामाजिक जिम्मेवारीलाई आत्मसात् गर्दै राहत कोषमा योगदान गरिएको एकेडेमीको भनाइ छ। गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक प्रदीप राजभण्डारीले समाजप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो। उहाँले ‘समाजसँग गुरुकुल’ भन्ने संस्थाको मूल भावनालाई व्यवहारमै रूपान्तरण गर्दै विपद्मा परेका नागरिकको दुःखमा साथ दिने प्रयासस्वरूप रकम सहयोग गरिएको जानकारी दिए।
“विपद्का बेला पीडित नागरिकको साथमा उभिनु मानवीय दायित्व हो। शिक्षण संस्थाले शैक्षिक गतिविधिसँगै समाजप्रतिको जिम्मेवारी पनि बहन गर्नुपर्छ भन्ने मान्यताअनुसार यो सहयोग गरिएको हो,” प्रधानाध्यापक राजभण्डारीले भने । गुरुकुल एकेडेमीका घोराही, तुलसीपुर र लमहीमा शाखा सञ्चालनमा छन्। तीनवटै शाखाको संयुक्त पहलमा गरिएको यस सहयोगले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।
एकेडेमीले शिक्षा, सामाजिक सेवा तथा मानवीय क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि विपद् तथा संकटका समयमा प्रभावित समुदायको सहयोगका लागि आवश्यक सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता गुरुकुलले जनाएको छ। शिक्षा केवल कक्षाकोठामा सीमित नभई समाजप्रतिको जिम्मेवारी र मानवीय संवेदनासँग जोडिनुपर्छ भन्ने सन्देशसहित गुरुकुलको यो पहलले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।

