थारू भाषाको विद्यालय सञ्चालनका लागि अनुमति
दाङ । तुलसीपुर उपमहानगरपालिकाले थारू भाषाको विद्यालय सञ्चालनका लागी एउटा विद्यालयलाई अनुमति दिएको छ । उपमहानगरपालिकाले १५ को दक्षिण कुररियामा थारू भाषाको विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरेको हो ।
दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला रहेको भन्दै थारू भाषामा पठनपाठनका लागि विद्यालय सञ्चालनको अनुमति प्रदान गरिएको नगरप्रमुख टीकाराम खड्काले बताए । गुठीका रूपमा विद्यालय सञ्चालन गर्न दिने गरी अनुमति प्रदान गरिएको उनले बताए । स्थानीय रोहित चौधरीले तीन वर्षअघि थारू भाषाको विद्यालय सञ्चालनको अनुमतिका लागि उपमहानगरपालिकामा निवेदन दर्ता गराएका थिए ।
सोही निवेदनमाथि उपमहानगरपालिकाको ४७ औँ कार्यपालिका बैठकले अनुमति दिने निर्णय गरेको हो । अहिलेसम्म जिल्लामा थारू समुदायका लागि गुठी अन्तर्गत छुट्टै विद्यालय सञ्चालनमा छैन । उक्त विद्यालयलाई थारू भाषाबाट पढाउनका लागि उपमहानगरपालिकाले स्वयंसेवक शिक्षक पनि उपलब्ध गराउने उनले बताए । सबै थारू समुदायका विद्यार्थी त्यही पढ्न गएमा आवासीय समेत बनाउन सकिने उनको भनाइ छ ।
उपमहानगरपालिकाले देशमै यो नयाँ अभ्यास थालेको उनले बताए । राष्ट्रिय जनगणना २०७८ अनुसार दाङको तुलसीपुरमा २१ प्रतिशत अर्थात कुल जनसङ्ख्या मध्ये ३८ हजार ३२५ जनसङ्ख्या थारू समुदायको बसोबास रहेको छ ।


