संघीयता कार्यान्वयन गर्न प्रदेश सरकार अधिकार सम्पन्न हुनुपर्छ : मुख्यमन्त्री
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयताको पूर्ण कार्यान्वयनका लागि प्रदेश सरकार अधिकार सम्पन्न हुनु पर्ने बताए । शुक्रबार गाउँपालिका महासङ्घको आयोजनामा दाङको भालुबाङमा भएको स्थानीय सरकार र प्रदेश सरकारबीच प्रदेशस्तरीय परामर्श गोष्ठीमा बोल्दै उनले त्यो भूमिका संघीय सरकारले निर्वाह गर्नु पर्ने बताए ।
उनले प्रदेश सरकार र स्थानीय सरकारले पूर्ण अधिकार नपाएको भन्दै तत्काल अधिकार सम्पन्न गराउन संघीय सरकारसँग आग्रह गरेका छन् । उनले भने,‘ संघले अधिकार तल्लो तहमा नदिँदा कार्य सम्पादनमा समस्या भइरहेको छ । त्यसको असर संघीयताको कार्यान्वयनमा पनि पुगेको छ । सरकार रहेको तर ,अधिकारमा सम्पन्न सरकार नहुदाँ संघीयता समेत कार्यान्वयन नभएको छैन् ।’
यस्तै उनले अहिले सङ्घीयतामा आलोचना बढिरहेको भन्दै त्यो अवस्था संघीय सरकारले ल्याएको बताए । उनले प्रदेश सरकारले पाएको अधिकार समेत संघले दिन नखोज्दा संघीयता कार्यान्वयनमा जटिलता उत्पन्न हुने संकेत देखिएको बताए । अहिले भएको संघीयताको विरोध संघ सरकारकै कारण भएको भन्दै उनले संघीयता विफल भए पनि संघ कै कारण हुने पनि उल्लेख गरे ।
उनले थपे,‘ संघले पूर्ण अधिकार प्रदेशलाई दियो, भने मात्रै संघीयता कार्यान्वयन हुन्छ । प्रदेश सरकारको औचित्य पनि पुष्टि हुन्छ । स्थानीय र प्रदेश सरकारले साना योजना भन्दा पनि देखिने प्रभावकारी योजनाहरू निर्माण गर्नु पर्छ । ’ यस्तै सबै योजनाहरू आर्थिक समृद्धिसँग जोडेर जान सकेमा जनताको आयस्तर समेत बढेर जाने उनको भनाइ छ ।

