बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनुपर्नेमा जोड
गुरुकुलको ८ औं दीक्षान्त कार्यक्रम
दाङ । नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासनले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनु पर्ने बताए । घोराही उपमहानगरपालिका १५ मा रहेको गुरुकुल एकेडेमीको ८ औं दीक्षान्त समारोह तथा हजुरबुवा हजुरआमा सम्मान कार्यक्रमको उद्घाटन गदै उनले यस्तो बताए । बालबालिकाहरूको मनोविज्ञान बुझेर शिक्षण सिकाइ गर्दा सिकाइ उपलब्धि प्रभावकारी हुन सक्ने उनले बताए । ‘विद्यार्थीहरूलाई दबाब दिएर सिकाइ उपलब्धि हुँदैन ,’ उनले भने ।
त्यसै अनुसार शिक्षण सिकाइ अगाडि बढाउन शिक्षकहरूलाई उनले आग्रह समेत गरे । विद्यार्थीहरूलाई अरुसँग तुलना गर्न नहुने भन्दै उनले अभिभावकहरूले विद्यार्थीलाई अरु यस्तो, उस्तो भनेर तुलना गर्न नहुने बताए । यसले बालबालिकाहरूलाई नकारात्मक सोचको विकास गराउने उनको भनाइ रहेको छ । पछिल्लो समयमा शिक्षामा निजी क्षेत्रको लगानी बढ्दै गएको समेत उनले बताए । यसले शिक्षाको विकासमा सहयोग पुग्ने समेत उनको भनाइ रहेको छ । ‘पहिले निजी क्षेत्रलाई नाफा कमाउने दृष्टिले मात्र हेर्ने गरिन्थ्यो अहिले परिवर्तन भएको छ,‘ उनले भने ।
विद्यालयका विद्यार्थी सङ्ख्या बढाउनभन्दा पनि गुणस्तरीय शिक्षा दिन विद्यालयहरू लाग्नु पर्ने समेत उनले बताए । कार्यक्रममा बोल्ने वक्ताहरूले गुरुकुल एकेडेमी स्थापना भएको छोटो समयमा नै राम्रो सफलता हासिल गर्न सफल भएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरेका थिए । उनीहरूले शिक्षासँगै विद्यार्थीहरूलाई संस्कार सिकाउन लाग्नु पर्ने बताएका थिए । विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसीले प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ अगाडि बढाइएको बताए । पूर्ण मानव सृजना गर्ने मूल ध्येयका साथ सञ्चालनमा आएको गुरुकुल एकेडेमीले विद्यार्थीहरूलाई दिइने शिक्षण सिकाइमा कुनै कमजोरी नहुने बताए ।
साथै कार्यक्रममा उपस्थित सबै अभिभावहरूलाई धन्यबाद समेत प्रदान गरेका थिए । शनिबार भएको दीक्षान्त कार्यक्रममा प्रि २ का ३१ जना विद्यार्थीहरूलाई दीक्षान्त गरिएको हो, भने प्रि १ र २ का विद्यार्थीहरूका हजुरबुवा हजुर आमाहरूलाई सम्मान गरिएको थियो । सो अवसरमा विद्यार्थीहरूले बिभिन्न नृत्य प्रस्तुत गरेको थिए भने मन्टेश्वरीका शिक्षिकाहरूले पनि नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयलाई महत्वपूर्ण योगदान दिएका ब्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरूमा विद्यालयका पूर्व प्रशासन प्रमुख नरेन्द्र देवकोटा , विद्यालयका शैक्षिक निर्देशक योगेश कुमार गोइत पूर्व मन्टेश्वरी संयोजक गोमा भण्डारी र कार्यक्रमका प्रमुख अतिथि सविन प्रियासनलाई सम्मान गरिएको थियो । कार्यक्रममा गुरुकुल एकेडेमीको पूर्व मन्टेश्वरी संयोजक गोमा भण्डारी ,विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरी ,अभिभावक सोनम चौरासिया र प्रि २ का विद्यार्थीहरूले मन्तव्य राखेका थिए ।
विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसीको अध्यक्षता तथा विद्यालयका मन्टेश्वरी संयोजक लोचना पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षिका रेशु राउतले गरेकी थिइन् । विद्यालयमा अहिले कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । विद्यालयमा अहिले प्ले ग्रुप देखि कक्षा ९ सम्म सीमित सिटमा भर्ना समेत खुलेको छ ।

