लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सुरु
दाङ । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा मतदान प्रक्रिया सुरु भएको छ। दाङको घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो।
निर्वाचनका लागि दुईवटा मतदान केन्द्र तोकिएको छ। मतदान केन्द्र (क) मा प्रदेशसभा सदस्यले मतदान गर्ने व्यवस्था गरिएको छ भने मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवरले जानकारी दिए ।
उनका अनुसार लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८३ जना रहेका छन् भने २०९ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी कुल २९९ जना मतदाता रहेका छन्।
मतदानका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म समय निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने तयारी पूरा गरिएको पनि कार्यालयले जानकारी दिएको छ।


