दाङको टरिगाउँमा तीन महिनापछि हवाई सेवा सुरु हुँदै

दाङ । दाङमा तीन महिनापछि, आगामी सोमवारदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु हुने भएको छ। नेपाल एयरलाइन्सका स्टेसन इन्चार्ज बलबहादुर सुनारका अनुसार विमानको इन्जिनमा समस्या आएपछि सेवा बन्द भएको थियो।

चैत महिनामा हप्तामा दुई दिन उडान हुने र वैशाख महिनादेखि यात्रु संख्या अनुसार चार दिनसम्म सेवा बढ्न सक्ने इन्चार्ज सुनारले बताएका छन। विमानस्थलको धावनमार्ग ७५० मिटर मात्र कालोपत्रे गरिएको छ, जसकारण साना विमान मात्र अवतरण गर्न सक्छन्।

विमानस्थलको स्तरोन्नति र विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ। यसमा धावनमार्ग १,२५० देखि १,५०० मिटर लम्ब्याउने प्रस्ताव छ। यसका लागि चार बिघा जग्गा अधिग्रहण प्रक्रिया अघि बढिरहेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस