काँग्रेस सभापति देउवा दाङ आउँदै

फाइल तस्वीर

दाङ ।  पूर्वप्रधानमन्त्री तथा काँग्रेसका सभापति देउवा दाङ आउने भएका छन्।  मटावाँ, बरघर, भल्मन्सा सङ्घको आयोजनामा दंगीशरण गाउँपालिका– ३ स्थित चखौरामा भेला हुने थारूहरूलाई पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।थारू सांस्कृतिक सङ्ग्रहालयमा माघ २६ र २७ गते हुने अन्तर प्रदेशस्तरीय कार्यक्रममा सांस्कृतिक तथा रैथाने खाना महोत्सव पनि लाग्ने छ ।

मटावाँ, बरघर, भल्मन्सा सङ्घका केन्द्रीय अध्यक्ष एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका अनुसार थारू भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले दुई दिने महोत्सव आयोजना गर्न लागिएको हो । ‘हाम्रो संस्कृति, हाम्रो सान, संस्कृति संरक्षणले बढ्छ देशको मान’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना हुन लागेको हो । महोत्सवमा दाङ र नवलपरासीको थारू समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाच प्रस्तुत हुने अध्यक्ष चौधरीले जानकारी दिए ।

यस्तै मघौटा, छोक्रा, हुर्डुंग्या लगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत हुने उनको भनाई छ ।यस्तै, महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवम् थारू लगायत विभिन्न जातजातिको रैथाने परिकारको प्रदर्शनी रहनेछ । थारू परिकारमा ढिक्री, अनदी चामलको भात, रोटी, अनदीको झोल, सुँगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचार लगायत जनजातिहरूको रैथाने परिकार बिक्री तथा वितरणका लागि राखिने उनले जानकारी दिए। सोहीअनुसार थारू भाषाको विभिन्न पुस्तक, पत्रपत्रिकाहरू, थारू हस्तकला लगायत बिक्री तथा प्रदर्शनीका लागि राखिने अध्यक्ष चौधरीले बताए ।

महोत्सवमा उत्कृष्ट सांस्कृतिक प्रदर्शन गर्ने पहिलो, दोस्रो र तेस्रोलाई आकर्षक पुरस्कारका साथै सहभागी सबै सांस्कृतिक टोलीलाई सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सवमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थारूहरू मौलिक भेषभुषासहित सांस्कृतिक झलकहरू प्रस्तुत हुनेछन्।  महोत्सवमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रूपन्देही, नवलपरासी, कपिलजस्तै जिल्ला हजारौं मटावाँ, बरघर, भल्मन्सा, ककन्डर्वाहरू लगायत थारू समुदायको उपस्थिति रहनेछ।

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस