हामी सच्चिन्छौँ, ८४ मा बहुमत दिनुहोस् : प्रचण्ड

दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफूहरु सच्चिने भन्दै २०८४ मा बहुमत दिन आग्रह गरे । माओवादी केन्द्र तुलसीपुर नगरकमिटीले आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले २०६४ कै जस्तै बहुमत दिन आग्रह गरे । उनले भने,‘ ६४ मा जुन मत दिएर हामीलाई बहुमत दिनुभयो । अब ८४ मा पनि त्यस्तै माया गरेर बहुमत दिनुहोस् । हामी बहुमतमा आउने छौँ ।त्यो बहुमतले यो देशबाट भष्ट्राचारले जराकिला उखलेर फाल्ने छ ।’ यस्तै उनले त्यो बहुमतले यो देशमा सामाजिक विभेदको पुरै अन्त्य गर्ने र यो देशलाई आर्थिक विकास र रोजगारीको एउटा नयाँ युग तिर लैजाने समेत बताए ।
उनले भने,‘ म यो बारेमा तपाईँहरूसँग सङ्कल्प गरेको छु । तपाईँहरूले यस बारेमा विचार गरिदिनुहोला । आफ्ना छोराछोरी सम्झेर माथि दिएर ८४ मा ६४ झै माया गरेर बहुमत दिनुहोला । त्यसको न्यायाधीश तपाईँहरू नै हो । ’ उनले माओवादी आन्दोलनबाट विभाजित भएका सबै पार्टीहरूलाई एकतावद्ध गर्न अभियान शुरु गरेको भन्दै त्यो अभियान छिट्टै सार्थक हुने पनि बताए । यस्तै उनले प्रतिपक्षीहरूलाई एकतावद्ध बनाएर लोकतन्त्रका विरुद्ध गतिविधि गर्नेहरू अगाडि लैजान लागेको समेत बताए । उनले भने,‘ तपाईँहरूले माओवादीलाई जनयुद्ध गर्ने र त्यसमा साथ दिन महान काम गर्नुभयो । शान्ति सम्झौतामा साथ दिने महान काम गर्नुभयो । संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक लोकतन्त्र स्थापनामा साथ दिनुभयो । ’
अब सुशासन, सामाजिक न्याय र आर्थिक विकासको लडाइमा माओवादी पार्टी लड्न चाहेको भन्दै त्यसको नेतृत्वको हैसियतले आफू जीवनको अन्तिमसम्म लडेर जितेर र अगाडि जान चाहेको भन्दै साथ दिन आग्रह गरे । यस्तै आफूहरूले महिलाका लागि ५० प्रतिशत प्रतिनिधित्व हुनु पर्ने, दलितहरूको निम्ति विशेष प्रतिनिधित्व र जनजाति आदिवासी सबैको निम्ति थप अधिकारको कुरा गरेको समेत बताए । यस्तै उनले विधान मिचेर बनेको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार असंवैधानिक भएको समेत बताए । उनले भने,‘ यो सरकार असंवैधानिक छ । गैरकानुनी सरकार हो । जनविरोधी सरकार हो । ठूलो दलको हैसियतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुपर्ने थियो । तर संविधान मिचेर केपी ओलीको नेतृत्वमा सरकार बन्यो ।’
उनले भ्रष्टाचारमा संलग्न फरार अभियुक्तलाई पक्राउ गर्ने बित्तिकै आफूलाई ठूला पार्टी भन्नेहरू डराएर अप्राकृतिक गठबन्धन गरेर सरकार बनाएको दाबी गरे । उनले भने,‘ तेस्रो पटक प्रधानमन्त्री भएपछि भ्रष्टाचारका विरुद्ध अभियान सुरु गरकै हो । भुटानी शरणार्थी । ललिता निवास । गिरी बन्धु टि स्टेट । ओमनी काण्डका विरुद्ध म लाग्ने आँट गरे । अब हाम्रो पनि पालो आउने भयो, भनेर काँग्रेस एमाले डराए र जाली फटाहरू मेरा विरुद्ध लागे ।’ यस्तै उनले घाटामा गएको विद्युत प्राधिकरणलाई ५० अर्व नाफमा लैजाने कुलमान घिसीङलाई हटाउन निकै जालझेल रचेको बताउँदै संवैधानिक परिषदमा समेत गठनबन्धनको बहुमत नपुग्ने भएपछि उपसभामुख इन्दिरा रानालाई पनि विभिन्न आरोप लगाएर हटाउने प्रयास गरेर दिउँसै रात पार्ने काम गरेको आरोप लगाए ।
खबरदारीसभामा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्मा, केन्द्रिय सदस्य जगप्रशाद शर्मा अपार, लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्की राजेस, केन्द्रिय लेखा समितिका सदस्य रामबहादुर दहित लगायतले बोलेका थिए । यसैबीच प्रचण्डले एउटै घरका ६ जना सहिद भएका घरपरिवारलाई समेत भेटेका छन् । तत्कालिन द्धन्द्धको सयमा तुलसीपुर उपमहानगरपालिका ८ बटोलपुर निवासी भगवति चौधरीको घरमा बम बनाउने क्रममा बिष्पोट हुँदा एकै घरका ६ जनाको मृत्यु भएको थियो । उनलाई सहिद परिवारको घरमा खाना खाने वातावरण पार्टीले मिलाएको थियो ।